बुवाको उपचारका लागि ‘क्युआर कोड’ राखेपछि आलोचित डोनाले भनेः तपाईंहरुलाई पाप नलागोस्
काठमाडौँ । पूर्वफुटबल खेलाडी तथा चर्चित कन्टेन्ट क्रिएटर (युट्युवर) डोना थापाले आफ्ना गम्भीर बिरामी बुबाको उपचारका लागि सामाजिक सञ्जालमा ‘क्युआर कोड’ राखेर आर्थिक सहयोग मागेपछि उत्पन्न विवाद र आलोचनाप्रति लामो प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा डोनाले आफ्नो आर्थिक अवस्था र बुबाको स्वास्थ्य अवस्था दर्शाउँदै आरोपहरूको खण्डन गरेका हुन् । बुबा अचानक बिरामी परेपछि खर्च जुटाउन सुरुमा भाइ (फुटबलर)को गाडी बेच्ने तयारी गरेको तर शुभचिन्तकहरूको सल्लाहमा सहयोगको बाटो रोजेको डोनाले बताएका छन् । ‘हामीले तत्काल आर्थिक जोहो गर्न भाइको गाडी बेच्ने भनेर पोस्ट गरेका थियौँ । तर, १०–१२ हजारभन्दा बढी मानिसहरूले ‘गाडी नबेच, हामी छौँ, सानो सपना किन मार्ने ? क्युआर राख, हामी सहयोग गर्छौं, भनेर हौसला दिनुभयो,’ डोनाले भने, ‘उहाँहरूकै आग्रह र भावनाको सम्मान गर्दै हामीले क्युआर कोड राखेका हौं । हामीले कसैलाई जबर्जस्ती मागेका होइनौँ ।’ बुबा पूर्व भारतीय सैनिक भएकाले निःशुल्क उपचार (इसीएचएस) सुविधा हुँदाहुँदै महँगो निजी अस्पतालमा लगेर चन्दा मागेको भन्ने आलोचनामा पनि उनले स्पष्टीकरण दिएका छन् । डोनाका अनुसार बिहान ६ बजे अचानक बुबालाई ‘सिजर अट्याक’ (छारे रोगजस्तो कम्प) आएपछि सुरुमा मेट्रो अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्काल ज्यान बचाउन ग्रान्डी अस्पतालको भेन्टिलेटरमा भर्ना गर्नुपरेको थियो । ‘आकस्मिक रूपमा ज्यान जान लागेको अवस्थामा हामीले ईसीएचएस कार्ड खोजेर, त्यो चल्ने अस्पताल चहार्न थालेको भए आज बुबा हामी माझ हुनुहुन्नथ्यो होला,’ उनले भने, ‘त्यस्तो आपत्कालीन अवस्थामा सस्तो-महँगो नभनी जहाँ भेन्टिलेटर पाइन्छ, त्यहीँ लानुपर्ने हाम्रो बाध्यता थियो ।’ उनले पेन्सन आउँदैमा असीमित पैसा नहुने, घरको ऋण तथा घरायसी जिम्मेवारीहरू यथावत् रहने यथार्थ पनि सुनाए । हाल ग्रान्डी अस्पतालमा उपचाररत बुबाको स्वास्थ्य स्थिति अझै जटिल रहेको डोनाले जानकारी दिएका छन् । उनका अनुसार बुबाको मस्तिष्कमा २ सेन्टिमिटर रगत जमेको (ब्लड क्लट) छ, जसका कारण पटक-पटक कडा ‘सिजर’ आइरहेको छ । शरीरको बायाँ भाग चल्न छोडेको र अवस्था अझै जोखिमपूर्ण रहेकाले भेन्टिलेटरमा राखेर लामो समय उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । संकटको घडीमा केही व्यक्तिहरूले देखाएको अमानवीय व्यवहारप्रति डोना र उनका भाइहरूले गहिरो दुःख व्यक्त गरेका छन् । कतिपयले १ रुपैयाँ खातामा हालेर ‘मगन्ते’ भन्दै व्यक्तिगत सन्देश पठाएर गिज्याएको र सामाजिक सञ्जालमा स्क्रिनसट राखेको उनले बताए । बुबा भेन्टिलेटरमा जीवन–मृत्युको लडाइँ लडिरहेको बेला सामाजिक सञ्जालमा ‘हार्दिक श्रद्धाञ्जली’ (आरआइपी) लेखेर अफवाह फैलाइएको भन्दै उनले आपत्ति जनाए । ‘कसैलाई सहयोग गर्न मन छैन भने नगर्दा हुन्छ, तर यस्तो गम्भीर परिस्थितिमा खुट्टा तान्ने, १ रुपैयाँ पठाएर मजाक उडाउने र जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिने काम नगरिदिनुस्,’ उनले हात जोड्दै आग्रह गरे । उपचारका लागि संकलित रकमको पूर्ण पारदर्शिता हुने प्रतिबद्धता जनाउँदै डोनाले यदि बुबाको उपचार खर्चभन्दा बढी रकम उठेमा त्यसलाई व्यक्तिगत काममा एक रुपैयाँ पनि प्रयोग नगर्ने कसम खाएका छन् । ‘म दुई हात जोडेर बाचा गर्छु, उपचारपछि बढी भएको रकम बाढीपीडित वा अन्य कुनै असहाय बिरामीको सहयोगमै लगाउनेछौँ । जसरी विगत १०–१२ वर्षदेखि मैले आफ्नै कमाइबाट एकेडेमीका बालबालिका, क्यान्सर पीडित र विपन्नहरूलाई सहयोग गर्दै आएको छु, यो रकम पनि सही ठाउँमा पुग्नेछ,’ उनले भने । अन्त्यमा, थापा दाजुभाइले विपद् जुनसुकै बेला जो–कोहीको घरमा पनि आउन सक्ने भन्दै अरूको पीडामा नहाँस्न र सकारात्मक सोच राख्न सबैलाई अपिल गरेका छन् । यस्तो बेलामा पनि आफूहरुमाथि नकारात्मक टिकाटिप्पणी गर्नेहरुलाई उनले भने, ‘तपाईंहरुलाई पाप नलागोस, तपाईंहरुले भविष्यमा यस्तो भोग्नु नपरोस ।’ संकटको घडीमा साथ, सहयोग र प्रार्थना गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति उनीहरूले हृदयदेखि नै आभार प्रकट गरेका छन् । को हुन् डोना थापा ? डोना थापा पूर्वनेपाली फुटबलर हुन्, तर पछिल्लो समय फुटबलभन्दा टिकटक,युट्यूव र सामाजिक सञ्जालमा बढी चिनिएका छन् । उनले नेपालको अन्डर १९ टिमबाट मिडफिल्डरको रुपमा खेलेका थिए । मनाङ मर्स्याङ्दी, थ्री स्टार लगायतका क्लबबाट खेल्दै राष्ट्रिय टीममा पनि पर्न सफल भएका थिए । अहिले उनको टिकटक अकाउन्टमा करिब १.५ लाखभन्दा बढी फलोअर र करिब २ करोड लाइक्स छन् । उनको युट्यूव च्यानलमा पछिल्लो उपलब्ध तथ्यांकअनुसार करिब ८.९ लाख सब्सक्राइबर र २९ करोडभन्दा बढी भिडियो भ्युज छन् । उनका केही भिडिओले लाखौँ भ्युज पाएका छन् । एउटा भिडिओले ६५ लाखभन्दा बढी भ्युज पाएको तथ्यांक छ । पछिल्लो समय उनी म्युजिक भिडिओमा पनि देखिन थालेका छन् । २०२६ मा ‘दिम कि नदिम’ लगायतका गीतका भिडियोमा उनको अभिनय देखिएको छ । उनका भाइ एरोन थापा पनि फुटबलसँग जोडिएका छन् । तीन भाइमा डोना जेठा हुन् । सामाजिक सञ्जालमा डोनाकी पत्नी पोर्चुगलको पीआरवाला रहेको, बुवा पूर्वभारतीय सैनिकका रुपमा पेन्सन पाइरहेको, डोनाको आफ्नै युट्यूव र टिकटकबाट राम्रो आम्दानी गरिरहेको, महंगो गाडी चढ्ने गरेको लगायत विषयवस्तुहरु उठाएर उनले बुवाको उपचारको लागि सहयोग संकलन गरेकोप्रति आलोचना भइरहेको छ ।