उद्यम विकास सहकारीको १८औँ साधारणसभा : १८ करोडको वासलातसहित नीति तथा कार्यक्रम सार्वजनिक
दमक । उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दमक–६ ले आफ्नो १८औँ वार्षिक साधारणसभाको तयारीसँगै आर्थिक, सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संस्थाले असोज २ गते आयोजना हुने १८औँ वार्षिक साधारणसभाका लागि करिब १८ करोड रुपैयाँको वासलातसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको आर्थिक समृद्धि, संस्थागत विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आगामी कार्यक्रम अघि बढाउने जनाएको हो। सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका गतिविधिलाई समेत आफ्नो कार्ययोजनाको महत्वपूर्ण हिस्सा बनाएको छ। यही प्रतिबद्धतालाई व्यवहारमा उतार्दै यस वर्षको तीज कार्यक्रमका लागि महिला उपसमितिलाई छुट्याइएको बजेटसमेत मानवीय सेवामा लगाउने निर्णय गरिएको छ। महिला उपसमिति संयोजक मैना दाहाल राहुतका अनुसार तीज कार्यक्रमका लागि छुट्याइएको बजेटलाई यस वर्ष कार्यक्रम आयोजना गर्नुको सट्टा मानवीय सेवामा उपयोग गर्दै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो। सहकारीले सामाजिक उत्सवमा खर्च हुने रकमलाई विपद् तथा समस्यामा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको हो। कार्यक्रममा संस्थाका अध्यक्ष वीरेन्द्र पोखरेल, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र निवर्तमान अध्यक्ष चन्द्रकुमारी भट्टराई खड्का लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सहकारीले आगामी दिनमा सदस्यको आर्थिक उन्नति, संस्थाको दिगो विकाससँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र समुदायप्रतिको दायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।