सर्वाेच्च अदालतमा आज (शुक्रबार) फुलकोर्ट बैठक बस्दै छ ।
अनुसन्धानको दायरामा रहेका विवादित पात्र इनम सापकोटासँग न्यायाधीशहरूको कनेक्सनको चर्चा हुन थालेपछि आज बिहान बस्नेगरी फुलकोर्टको बैठक राखिएको हो ।
इमान सापकोटासँग अदालतका चार जना न्यायाधीशसँग सम्पर्क भएको खुलेको छ । न्यायाधीश हरि फुयाँलसँग मुद्दाको विषयमा कुराकानी गर्दै छलफल भएको संवाद सार्वजनिक भएको थियो । उक्त संवादले सर्वोच्च अदालतका न्यायाधीशहरूबीच हंगामा भइरहेको छ ।
न्यायाधीश फुयाँल मात्र होइन, प्रधानन्यायाधीश मनोज शर्माको नाम पनि मुछिएको थियो । त्यसैले, सर्वोच्च अदालतभित्र बिहीबार सन्नाटा छाएको पनि बताइएको छ । शर्माले भने विज्ञप्ति निकालेर सापकोटासँग संवाद नभएको दाबी गरेका छन् ।
तर, फुयाँलले भने सापकोटासँग संवाद भएको तर मुद्दाको विषयमा छलफल नभएको दाबी गरेका छन् । उनीसँग मुद्दाको विषयमा छलफल नभएको र त्यसअनुसार आदेश नभएको दाबी पनि गरेका छन् । अदालतको खाजा समयपछि केही सञ्चारकर्मीहरूसँग फुयाँलले सापकोटासँग भएको छलफल र भेटघाटको विस्तृत विवरण सुनाएका थिए ।
सापकोटासँग भएका संवादहरू सार्वजनिक भएपछि फुयाँलले आफ्नो बचाउमा घटनाक्रमहरूको विस्तार लगाएका थिए । रास्वपाका सासदहरूले महाभियोग लगाउने चर्चापछि सापकोटा आफ्नो सम्पर्कमा आएको फुयाँलले दाबी गरेका थिए । विभिन्न शक्ति केन्द्र मात्र होइन, विदेशी शक्ति केन्द्रको समेत नाम लिएर सापकोटा आएको फुयाँलको दाबी छ ।
अदालत मात्र होइन, सरकार र सत्तारुढ दलभित्र नै हंगामा हुने गरी इनम सापकोटा र फुयाँल संवाद प्रकरण सार्वजनिक भएपछि अदालतभित्र सन्नाटा नै छाएको सर्वोच्चका अधिकारीहरूले उल्लेख गरेका छन् ।