रातभरि संचालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा , दुर्गा, डी डब्लु , नाइट लाइफ , लोटस , हाइप , जन्नत, गन्तव्यलगायत सबै डान्स बारहरुमा सर्च अपरेशन गरेको हो । त्यसक्रममा करिव एक दर्जन पक्राउ परेका छन् । जन्नत र गन्तव्य बन्द रहेको जनाइएको छ ।अन्य डान्स बारहरु रातभरि संचालन भइरहेका थिए । डान्स बारहरुलाई राति ११ बजेसम्म संचालन गर्ने समय दिइएको छ । तर , बिर्तामोडका अधिकांश डान्स बारहरु रातभरि संचालन गर्ने गरेको पाइएको छ । बिर्तामोड प्रहरीको कमाण्ड सम्हाल्नेबित्तिकै डीएसपी पाठकले कडाई गर्न थालेका छन् । उनले कमाण्ड सम्हालेको तीन दिनमा बिर्तामोडका स्पा तथा मसाज सेन्टरहरुमा छापा मारी तीनजनालाई पक्राउ गरेका थिए ।
कास्की – गुप्तेश्वर गुफा ले एकैदिनमा पाँच लाख २५ हजार ७१५ रुपैयाँ आम्दानी गरेको छ। पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गुफामा आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य भीड देखिएको हो। गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला का अनुसार जेठ १० गते आइतबार मात्रै चार हजार ४७२ बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक तथा ११९ विद्यार्थी गरी कुल ६ हजार ७८ जनाले टिकट काटेर गुफा अवलोकन गरेका थिए। गुफाभित्र करिब ५०० मिटर दूरीमा रहेको प्राकृतिक शिवमूर्ति तथा करिब १०० मिटर तलबाट देखिने पातले छाँगो (डेभिज फल) को दृश्य पर्यटकको मुख्य आकर्षण बनेको अध्यक्ष बास्तोलाले बताए। उनका अनुसार गुफा धार्मिक र पर्यटकीय दृष्टिले अलौकिक स्थलका रूपमा विकसित हुँदै गएको छ। गुफा प्रवेशका लागि आन्तरिक पर्यटकलाई ५० रुपैयाँ, बाह्य पर्यटकलाई १०० रुपैयाँ तथा विद्यार्थीलाई ३५ रुपैयाँ शुल्क तोकिएको छ। टिकट बिक्रीसँगै गुफाभित्र राखिएको यान्त्रिक कामधेनु गाई र भक्तजनबाट प्राप्त हुने दानबाट पनि राम्रो आम्दानी हुने गरेको व्यवस्थापन समितिले जनाएको छ। अध्यक्ष बास्तोलाका अनुसार गुफाको आम्दानी संरक्षण तथा प्रवर्द्धनसँगै शैक्षिक क्षेत्रमा समेत लगानी हुँदै आएको छ। गुफाले सञ्चालन गरेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा हाल ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। त्यसैगरी गुफाको धर्मशाला हलमा सञ्चालित गुरुकुलमा कक्षा ११ सम्म अध्ययन हुने गरेको छ, जहाँ हाल ४८ विद्यार्थी अध्ययनरत छन्। गुफाले आसपासका सामुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गर्दै आएको बताइएको छ। गुफा कार्यालय प्रमुख नारायण पौडेल ले पछिल्लो समय गर्मी बढेसँगै पोखरामा पर्यटक आगमन बढेको र पोखरा आउने धेरै पर्यटकले गुप्तेश्वर गुफा अवलोकनलाई भ्रमणको अनिवार्य गन्तव्यका रूपमा लिन थालेको बताए। उनका अनुसार गुफाको क्षमता करिब ६ हजार जनाको भए पनि भीड व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ।
नेपाल पर्यटन बोर्ड ले चीनको ग्वाङ्झाउ मा आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको जनाएको छ । उक्त मेला मे २१ देखि २३ सम्म सञ्चालन भएको थियो । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिक महत्व, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणलाई आधार मानेर नेपाललाई उक्त सम्मान प्रदान गरिएको बोर्डले उल्लेख गरेको छ । तीनदिने अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ अर्थात् ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित सहभागिता जनाएको थियो । मेलामा सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तरराष्ट्रिय आगन्तुक र ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराइएको थियो । ग्वाङ्झाउ हङकङ तथा ग्रेटर बे एरियानजिकको प्रमुख व्यापारिक र पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बजारका रूपमा हेरिएको छ । विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक तथा लक्जरी पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको बोर्डले जनाएको छ । मेलाको उद्घाटन दिन मे २१ मा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा ‘गन्तव्य नेपाल’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो । उद्घाटन सत्रमा विमल कँडेल ले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ प्रस्तुत गरेका थिए । उनले नेपालको पर्यटन बजार विस्तार रणनीतिसम्बन्धी प्यानल छलफलमा समेत सहभागिता जनाएका थिए । मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी विभिन्न प्याकेजबारे चिनियाँ तथा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए । हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्स ले काठमाडौँ–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् । यसबाट नेपाल–चीन पर्यटन पहुँच विस्तार हुनुका साथै चिनियाँ पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ ।
काठमाडौँमा आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०२६’ सुरु भएको छ । दक्षिण एसियाली मुलुकबीच उद्योग, व्यापार र सेवासम्बन्धी अवसरलाई एकै थलोमा जोड्ने उद्देश्यसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला आयोजना गरिएको हो । मेलामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलाको विभिन्न देशका राजदूत तथा उद्योगी व्यवसायीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् । इन्ट्रोडक्शन ट्रेड शोज नेपालको व्यवस्थापनमा सञ्चालन भएको मेला बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्यमा आयोजना गरिएको हो भने भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले पनि मेलालाई समर्थन गरेको छ । मेलामा विभिन्न देशका ‘पेभिलियन’ राखिएका छन् । आयोजकका अनुसार सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी–व्यवसायी तथा एक लाखभन्दा बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोशाक, सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण तथा विद्युतीय सवारी साधनलगायतका सामग्री प्रदर्शनमा राखिएका छन् । मेला संयोजक सुमन महर्जनका अनुसार प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, दक्षिण एसियाली राष्ट्रहरूबीच व्यापारिक सम्बन्ध थप मजबुत बनाउन मेलाले सहयोग पुग्ने विश्वास गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङ ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणबारे कडा र स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले “PROMISE IS A PROMISE” भन्दै कानुन कार्यान्वयनमा सरकार कुनै पनि हालतमा पछि नहट्ने सन्देश दिएका हुन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा क्रममा गृहमन्त्री गुरुङले देशमा विधिको शासन स्थापित गर्ने अभियान सुरु भएको उल्लेख गरेका छन्। उनले स्पष्ट रूपमा भनेका छन्—“कानुनभन्दा माथि कोही छैन। चाहे त्यो साधारण नागरिक होस् वा देशको उच्च पदमा पुगेको व्यक्ति।” उनका अनुसार पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई नियन्त्रणमा लिनु कुनै राजनीतिक प्रतिशोध नभई कानुनी प्रक्रिया अन्तर्गत गरिएको कदम हो। उनले यसलाई “न्यायको सुरुवात” को रूपमा व्याख्या गर्दै सरकार निष्पक्ष र पारदर्शी ढंगले अघि बढिरहेको दाबी गरेका छन्। गृहमन्त्री गुरुङले विगतका घटनाहरूमा राज्य संयन्त्रबाट भएका कमजोरीहरूको निष्पक्ष छानबिन हुनु आवश्यक रहेको बताउँदै, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे। उनले जनतामा लामो समयदेखि रहेको “शक्तिशालीहरू कानुनभन्दा माथि हुन्छन्” भन्ने धारणा तोड्न सरकार दृढ रहेको उल्लेख गरेका छन्। उनले यो कदमले लोकतन्त्रलाई थप बलियो बनाउने र नागरिकमा न्यायप्रणालीप्रति विश्वास पुनःस्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले सबै नागरिकलाई संयमित र जिम्मेवार भएर सत्य र न्यायको पक्षमा उभिन आग्रह गरेका छन्। गुरुङले अन्त्यमा भनेका छन् कि यो केवल सुरुवात मात्र हो—अब देशलाई सही दिशा दिन थप कडा र निष्पक्ष निर्णयहरू क्रमशः अघि बढाइनेछन्। उनले “अबको नेपाल न्याय, पारदर्शिता र उत्तरदायित्वमा आधारित हुनेछ” भन्ने विश्वाससमेत व्यक्त गरेका छन्।
गायक रामकृष्ण ढकालको निर्माणमा बनेको फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई आत्मीय र प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा विजय वर्षाको काखमा टाउको राखेर आरामदायी भावमा देखिन्छन् भने रातो ग्रामीण पहिरनमा सजिएकी वर्षाले उनको टाउकोमा आफ्नै टाउको अड्याउँदै मुस्कुराइरहेकी छन्। पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन्। पृष्ठभूमि र पात्रहरूको प्रस्तुतीकरणले ग्रामीण परिवेशमा आधारित पारिवारिक प्रेमकथाको संकेत गर्छ। निर्देशक प्रकु पाण्डेयले फिल्मलाई विशुद्ध नेपाली पारिवारिक प्रेमकथा भएको बताएका छन्। उनका अनुसार, “यो फिल्म परिवारका सबै उमेर समूहले एकसाथ बसेर हेर्न मिल्ने खालको छ। यसले हाम्रो समाजको बलियो पक्षलाई उजागर गर्ने प्रयास गरेको छ।” फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको रहेको छ। फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरूङ र स्वीकृति बस्नेत रहेका छन्। कलाकारमा विजय र वर्षासँगै मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरूङ र सागर भट्टराईलगायतको अभिनय रहेको छ। फिल्मका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजले गरेका छन्। रंग संयोजन कृष्ण भण्डारीको तथा ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। डिजिटल वितरण ओएसआर डिजिटलले गर्नेछ भने थिएटर वितरण आरआर फिल्म्समार्फत हुनेछ।
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check