किलियन एम्बाप्पे सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेपछि दुईपटक विश्वकप गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । फ्रान्सका फरवार्ड एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै लियोनल मेस्सीलाई पछि पारेर उत्कृष्ट प्रतिस्पर्धाका बीच यो उपाधि जितेका हुन् । यसअघि कतार २०२२ विश्वकपमा आठ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका एम्बाप्पेले लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्ने कीर्तिमान कायम गरेका छन् । २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि विश्वकपको एउटै संस्करणमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बने । एउटै विश्वकप संस्करणमा एम्बाप्पेभन्दा बढी गोल गर्ने खेलाडी केवल दुई जना मात्र छन्– सन् १९५८ मा फ्रान्सका जस्ट फन्टेनले १३ गोल गरेका थिए भने सन् १९५४ मा हंगेरीका सान्दोर कोचिसले ११ गोल गरेका थिए । एम्बाप्पे अहिले पुरुष विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले विश्वकपमा कुल २२ गोल गरेका छन्, जुन लियोनल मेस्सीको भन्दा एक गोल बढी हो|
काठमाडौं, असार ३१ । Yukti Times नेपालले सन् २०२८ को आईसीसी टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट प्रक्रियाअनुसार नेपालले यसपटक एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन। आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः आगामी विश्वकपमा स्थान सुरक्षित गर्न नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा सहभागी हुनेछन्। नेपाल पनि यही सूचीमा परेकाले उसले क्षेत्रीय छनोटको झन्झट बेहोर्नु नपर्ने भएको हो। नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै बाहिरिए पनि ग्लोबल छनोटमा सिधै प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित राख्न सफल भएको थियो। ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन्। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन्। ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक टोली र समग्रमा उत्कृष्ट थप तीन टोली गरी कुल सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले छनोटका लागि न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ। आईसीसीले यसअघि हटाइएको ग्लोबल छनोट प्रणालीलाई पुनः लागू गरेको छ। साथै टी–२० विश्वकपको फर्म्याटमा पनि परिवर्तन गरिएको छ। उक्त परिवर्तन आईसीसी सम्मेलनबाट पारित भइसकेको भए पनि अन्तिम स्वीकृति भने नोभेम्बरमा हुने छलफलपछि प्रदान गरिनेछ।
हरेक वर्षको जेठ र असार महिना नेपाली राजनीति र अर्थतन्त्रका लागि ‘उत्सव र आशाको ऋतु’ बन्ने गर्दछ। सरकारले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले नागरिकमा नयाँ उत्साह जगाउँछ भने त्यसलगत्तै आउने बजेटले ती सपनालाई साकार पार्ने आर्थिक इन्जिनको काम गर्छ। सैद्धान्तिक रूपमा नीति तथा कार्यक्रम भनेको मार्गचित्र (म्याप) हो र बजेट भनेको गन्तव्यसम्म पुग्ने साधन र इन्धन हो। तर, कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र हालै सार्वजनिक बजेट वक्तव्यलाई गहिरिएर समीक्षा गर्दा मार्गचित्र एकातिर र गाडी अर्कोतिर कुदेको त होइन भन्ने गम्भीर प्रश्न उठ्छ। नीति तथा कार्यक्रममा देखाइएका ठूला र आकर्षक सपनाहरू बजेटको थैली खोल्दा कसरी हराए वा ओझेलमा परे? यो केवल कोशी प्रदेशको मात्र होइन, समग्र संघीयता कार्यान्वयनकै एउटा पेचिलो समीक्षात्मक पाटो बनेको छ। १. ‘स्वच्छ र समुन्नत प्रदेश’ नाराः बजेटमा परम्परागत पारा सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को दीर्घकालीन र आदर्शवादी सोच अघि सारेको थियो। सुन्दा निकै कर्णप्रिय लाग्ने यो नाराले प्रदेशवासीमा एक खालको भरोसा पनि जगाएको थियो। तर, जब आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गरे, तब नीतिगत आदर्श र वित्तीय यथार्थबीचको खाडल स्पष्ट देखियो। बजेटको ठूलो हिस्सा (करिब १२ अर्ब ३८ करोड रुपैयाँ) सडक पूर्वाधार र सहरी विकासजस्ता परम्परागत भौतिक संरचनामै केन्द्रित भयो। पूर्वाधार विकास आफैंमा नराम्रो होइन। तर नीतिले परिकल्पना गरेको ‘समुन्नत’ र ‘सुखी’ नागरिक निर्माणका लागि आवश्यक मानवीय तथा सामाजिक पुँजी विकासका कार्यक्रमहरू बजेटका प्राथमिकताभित्र अपेक्षित रूपमा देखिएनन्। २. निजी क्षेत्र र लगानी आकर्षणः नीतिमा गर्जन, बजेटमा सन्नाटा नीति तथा कार्यक्रमको एउटा बलियो खम्बा थियो— स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत तथा कार्यविधिगत सुधार गर्दै प्रदेशलाई लगानीमैत्री बनाउने। प्रदेशको विकास केवल सरकारी ढुकुटीबाट सम्भव छैन भन्ने बुझाइका आधारमा निजी क्षेत्रलाई विकासको साझेदार बनाउने रणनीति अघि सारिएको थियो। तर बजेट वक्तव्यमा फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउने जस्ता सीमित विषयबाहेक ठूला लगानी भित्र्याउने कुनै ठोस वित्तीय प्याकेज, कर छुट, सहुलियत वा ‘प्रदेश लगानी प्राधिकरण’ लाई प्रभावकारी बनाउने रणनीतिक योजना देखिँदैन। नीतिमा ठूलो गर्जन सुनियो, तर बजेटमा लगानी आकर्षणको सवाल लगभग मौन रह्यो। ३. हरित रोजगारी र वन उद्यमः नाराभित्र खुम्चिएको सम्भावना कोशी प्रदेश वन, जडीबुटी तथा प्राकृतिक स्रोतका हिसाबले नेपालकै धनी प्रदेश हो। नीति तथा कार्यक्रमले वन क्षेत्रको दिगो व्यवस्थापन, जडीबुटी तथा नगदे वनबालीको व्यावसायिकीकरणमार्फत व्यापक ‘हरित रोजगारी’ सिर्जना गर्ने र युवालाई स्वदेशमै रोक्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो। बजेटले ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ कार्यक्रमका लागि १८ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ। साथै बाँस, तेजपत्ता र रुद्राक्ष खेतीलाई प्रोत्साहन गर्ने योजना पनि ल्याइएको छ। तर नीतिले परिकल्पना गरेजस्तो वनमा आधारित उद्योग स्थापना, मूल्य शृंखला विकास तथा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने दीर्घकालीन औद्योगिक खाका बजेटको प्राथमिकतामा पर्न सकेन। सम्भावनायुक्त हरित अर्थतन्त्र वन संरक्षणको सीमित घेराभित्रै खुम्चिएको देखिन्छ। ४. डिजिटल शिक्षा र नवप्रवर्तनः सहरमा आइटी, गाउँमा अन्धकार शिक्षा क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने नीतिगत संकल्प सकारात्मक थियो। यसैअनुसार धनकुटामा आइटी पार्कका लागि २ करोड रुपैयाँ विनियोजन गर्नु र ५ हजार युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिने घोषणा गर्नु स्वागतयोग्य सुरुवात हुन्। तर प्रश्न उठ्छ— के कोशी प्रदेशको डिजिटल शिक्षाको आवश्यकता केवल ५ हजार युवालाई एआई तालिम दिएर पूरा हुन्छ? नीतिले दुर्गम पहाडी तथा हिमाली क्षेत्रका सरकारी विद्यालयहरूको डिजिटल रूपान्तरण र स्मार्ट कक्षाकोठा निर्माणको कुरा गरेको थियो। तर बजेटले ती विद्यालयहरूको आधारभूत डिजिटल पूर्वाधार विकासलाई पर्याप्त प्राथमिकता दिएको देखिँदैन। परिणामतः प्रविधि विकासका कार्यक्रम सहरी केन्द्रमै सीमित हुने जोखिम देखिएको छ। ५. सामाजिक न्याय र सीमान्तकृत वर्गः सिद्धान्तमा स्थान, स्रोतमा उपेक्षा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्ग, समुदाय, महिला, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समूहलाई विकासको मूल प्रवाहमा ल्याउने प्रतिबद्धता नीति तथा कार्यक्रमको सबल पक्ष थियो। बजेटले सीमान्तकृत किसानका लागि साना सोलार सिँचाइ कार्यक्रम तथा ‘जनता आवास कार्यक्रम’ का लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेर केही राहत दिने प्रयास गरेको छ। तर आदिवासी जनजाति, दलित, महिला तथा अन्य उत्पीडित समुदायको दीर्घकालीन सशक्तीकरणका लागि आवश्यक विशेष सामाजिक सुरक्षा, उद्यमशीलता तथा आर्थिक उत्थानका प्याकेजहरू बजेटको प्राथमिकतामा पर्न सकेका छैनन्। ६. वित्तीय संघीयता र समन्वयको कडी कहाँ टुट्यो? संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता नीति तथा कार्यक्रममा थियो। तर बजेटले पुरानै समानीकरण, सशर्त तथा समपूरक अनुदानको ढाँचा मात्रै पछ्याएको देखिन्छ। स्थानीय तह र प्रदेशबीच प्राकृतिक स्रोत— ढुंगा, गिटी, बालुवा तथा वनजन्य स्रोतको राजस्व बाँडफाँटमा देखिएका समस्या समाधान गर्ने वा एकीकृत राजस्व व्यवस्थापन प्रणाली विकास गर्ने नवीन वित्तीय मोडेल बजेटमा समावेश हुन सकेन। यसले संघीयताको मर्मअनुसार वित्तीय स्वायत्तता र समन्वयलाई थप कमजोर बनाउने जोखिम देखिन्छ। ७. सिद्धान्त र व्यवहारको नमेटिने दूरी कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटबीचको सम्बन्धलाई हेर्दा एउटा कुरा स्पष्ट हुन्छ— नीति तथा कार्यक्रम बनाउँदा हामी आदर्शवादी बन्छौं, तर बजेट निर्माणका बेला परम्परागत सोचमै सीमित रहन्छौं। उपलब्ध सीमित स्रोत, बढ्दो चालु खर्च र आर्थिक दबाबका कारण नीतिमा उल्लेख गरिएका सबै योजना बजेटमा समेट्न नसकिने यथार्थलाई स्वीकार गर्न सकिन्छ। तर दूरगामी महत्वका रणनीतिक कार्यक्रमहरू नै प्राथमिकताबाट बाहिरिनु वित्तीय अनुशासनभन्दा बढी राजनीतिक इच्छाशक्ति र प्राथमिकताको प्रश्न हो। कागजमा उत्कृष्ट नीति कोर्नु मात्र उपलब्धि होइन, त्यसलाई नागरिकको जीवनस्तर, आम्दानी र अवसरसँग जोड्ने बजेटको स्पष्ट प्रतिबद्धता आवश्यक हुन्छ। कोशी प्रदेश सरकारले आगामी दिनमा नीतिमा लेखिने तर बजेटमा नदेखिने यो ‘द्वैध चरित्र’ सुधार्न सकेन भने वार्षिक बजेट केवल अंकहरूको जोडघटाउ र तलब–भत्ता व्यवस्थापनको औपचारिक दस्तावेजमा सीमित हुनेछ। अनि ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को सपना नागरिकका लागि सधैं अधुरै रहनेछ।
विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ। मेक्सिकोको प्रसिद्ध एस्ताडियो एज्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल राति पौने १ बजे सुरु हुने छ। यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ। त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १६ भव्य रङ्गशालामा रहने छ। विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ। विश्वकप २००२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए। विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ। त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन्। ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ। त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान ग गर्नेछन्। फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र कप भेर्डे, कुराकाओ, उज्वेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन्। यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ। विश्वकपमा कुल १०४ खेल हुन्छन्। अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल पनि छन्। यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डालास, ह्युस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ। मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टर्री र ग्वाडालजारामा कुल १३ खेल खेलिने छ। क्यानडाको भागमा पनि १३ खेल परेका छन्। ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन्। मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ। मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरेको हो। क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ। विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ। त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ। जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन । यति ठूलो मञ्चमा नेमार, किलियन एम्बापे, लामिने यमाल, ओसमान डेम्बेले, इर्लिङ हल्यान्ड, मोहम्मद सलाह जस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ। तर यसपालि पनि चर्चा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोकै हुने पक्का छ। यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुँदै छ। यी दुवै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन्। यसै गरी प्रत्येक संस्करणमा जस्तै चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका केही उत्कृष्ट खेलाडी पनि यस पटक अभाग्यशाली साबित भएका छन्। फ्रान्सका ह्युगो इकितिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, इङ्ल्यान्डका कोल पाल्मर, फिल फोडेन, अर्जेन्टिनाका पाउलो डिबाला, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जर्जियाका कभारा कँभित्सखेलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई जस्ता खेलाडी दर्शकमा सीमित भएका छन्। विश्वकपमा अत्यधिक गर्मी पनि चुनौती हुने छ। यस विश्वकपमा कुल पुरस्कार राशि ६५१ मिलियन डलर रहेको छ। यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो। यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्ने छ।
नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ । एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेको हो । आज बिहान मलेसियाको वायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो । थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले अविजित २० रन बनाइन् भने सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रनको योगदान दिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो । थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन जोडिन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा जारी एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न नसकी १९.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनाउन सक्यो। ओमानका लागि कप्तान सुफ्यन महमुदले सर्वाधिक ३८ रन बनाए भने जुबाइर अली अकबरले २२ र अब्दुलजलिल खानले १६ रनको योगदान दिए। ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले घातक बलिङ गर्दै ३ विकेट लिए। त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट झारे भने साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट आफ्नो नाममा गराए। ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाउँदै फराकिलो जित हासिल गर्यो। नेपालको जितमा लोकेश बमले विष्फोटक इनिङ खेले। उनले मात्र २६ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ४४ रन जोडे। यस्तै, कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने ओपनर कुशल भुर्तेलले २० रन बनाए। नेपाल यसअघि सेमिफाइनल पुगेसँगै एसियाली खेलकुदका लागि छनोट भइसकेको छ। नेपालसँगै सेमिफाइनल पुगेका बाँकी तीन टोलीले पनि एसियाली खेलकुदमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अब नेपालले उपाधिका लागि सोमबार हङकङ र मलेसियाबिच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि डेचेन वाङ्मोले ६० बलमा सर्वाधिक ३९ रन बनाइन् । चाडो ओमले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालको बलिङतर्फ रुबिना क्षेत्रीले ३ तथा रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर र मनिषा उपाध्यायले समान १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा ११३ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि सीता राना मगरले २८ बलमा सर्वाधिक ३७ रन बनाइन्। रुबिना क्षेत्रीले २४ रन जोडिन् भने सोनी पाख्रिनले १३ र सम्झना कुमारीले १० रन बनाइन् । भुटानका लागि सोनाम र छेरिङ जाङ्मोले समान ३/३ विकेट लिए । पहिलो खेलमा हिजो कतारलाई ८ विकेटले हराएको नेपाल समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छन् । नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ । महिला टी–२० एसिया कप छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा १८ टोली सहभागी छन् । प्रतियोगिताबाट उत्कृष्ट चार टोली महिला एसिया कपका लागि छनोट हुनेछन् ।
काठमाडौं । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीलाई पहिलो टि–२० अन्तरराष्ट्रिय अभ्यास खेलमा दुई विकेटले पराजित गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन बनाइन् । उनले ३९ बलमा दुई चौकाको सहयोगमा महत्वपूर्ण इनिङ खेलेकी हुन् । रुबी पोद्दारले १५ रन जोड्दा कविता जोशीले ६ रनको योगदान दिइन् । बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट हात पारिन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई–दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान ७–७ रन बनाए । नेपालका लागि पूजा महतोले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिए भने कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट हात पारे । एसियन छनोट तथा एसीसी प्रिमियर कपको तयारीका लागि मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपाल र मलेसियाबीचको दोस्रो अभ्यास खेल यही जेठ ८ गते हुनेछ ।
दोलखा, वैशाख २६ गते । दोलखा चेस होम नेपालको आयोजनामा वैशाख २८ देखि जेठ २ गतेसम्म छैटौँ खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा क्लासिकल र र्यापिड गरी दुई विधा समावेश गरिएको छ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक गोविन्दमान श्रेष्ठले नेपालसहित अमेरिका, रसिया, चीन, मङ्गोलिया, फिलिपिन्स, भारत, बङ्गलादेश र श्रीलङ्कालगायत १० राष्ट्रका खेलाडी सहभागी हुने जानकारी दिनुभयो । चरिकोटस्थित सिम्पानी सभाहलमा सञ्चालन हुने प्रतियोगितामा तीन सय ५० जना खेलाडी सहभागी हुनेछन् । नेपालका च्याम्पियन एफएम रुपेश जैसवाल २१०३ रेटिङसहित प्रतिस्पर्धामा सहभागी रहने बताइएको छ । विश्व बुद्धिचाल महासङ्घ (फिडे), एसियन चेस फेडेरेसन र नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा आयोजना हुने प्रतियोगितामा २५ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेता खेलाडीलाई ६ लाख ६७ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय प्रमुख निर्णायक तथा नेपाली अन्तर्राष्ट्रिय आर्बिटर निरञ्जन प्रजापतिले सञ्चालन गर्नुहुनेछ । मोफसलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै खेल विकाससँगै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य आयोजकको रहेको छ । I prefer this response
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check