रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कार्तिक २६ गते रिहा हुने भएका छन् ।
६५ वर्ष उमेर पूरा भएका रायमाझीले ज्येष्ठ नागरिकका रूपमा पाउने कानुनी सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार उनी रिहा हुन लागेका हुन् ।
यद्यपि, जेलबाट रिहा भए पनि कानुनी व्यवस्थाअनुसार रायमाझीले तत्काल सांसदको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् ।
रायमाझीले यसअघि २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका निर्वाचनमा लगातार चारपटक जित हासिल गरेका थिए । उनी मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बनेका थिए ।
रायमाझीका निकटस्थ लिला केसीका अनुसार उनको बिगो रकमसमेत घटाएर १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
केसीका अनुसार रायमाझीको रिहाइको समय कार्तिक २५ गते नै पुग्ने भए पनि प्रशासनिक प्रक्रियाका कारण कार्तिक २६ गते बिहान रिहा गर्ने तयारी गरिएको छ ।
‘२५ गते नै रिहाइको समय पुग्ने भए पनि २६ गते बिहान निस्कने कुरा भएको छ । त्यसपछि मुद्दा उच्च अदालतमा गएसँगै यसको किनारा लाग्छ,’ केसीले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीको रिहाइसँगै यस प्रकरणको कानुनी प्रक्रिया र आगामी सुनुवाइलाई चासोका साथ हेरिएको छ ।