इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि कार्यक्रम शनिबारदेखि सुरु भएको छ। राजधानी तेहरानका सडक र धार्मिक स्थलहरूमा लाखौँ श्रद्धाञ्जली दिन पुगेका नागरिकहरूको उपस्थिति देखिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। छ दिनसम्म सञ्चालन हुने अन्त्येष्टि कार्यक्रमको पहिलो दिन बिहानैदेखि तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मुसल्ला मस्जिदमा सर्वसाधारणको ठूलो भीड लागेको थियो। फेब्रुअरी २८ को आक्रमणमा मारिएका खामेनी र उनका परिवारका सदस्यहरूको ताबुत इरानी राष्ट्रिय झण्डाले ढाकेर श्रद्धाञ्जलीका लागि राखिएको थियो। ताबुतको अन्तिम दर्शनका क्रममा धेरै श्रद्धालु भावुक बनेका थिए। कार्यक्रममा सहभागीहरूले ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै बदलाको मागसमेत गरेका थिए। इरानी अधिकारीहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा करिब १ करोड ५० लाखदेखि २ करोड मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ। अन्तिम यात्रा जुलाई ६ मा तेहरानबाट सुरु हुने र क्रमशः कोम, इराकका नजफ र कर्बला हुँदै जुलाई ९ मा मशहदस्थित इमाम रजा दरगाह परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिने कार्यक्रम तय गरिएको छ। मशहद शिया मुस्लिमहरूको प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक हो। शिया सम्प्रदायका आठौँ इमाम इमाम रजाको समाधि यहीँ रहेकाले यो मक्का, मदिना र कर्बलापछि सबैभन्दा पवित्र स्थल मानिन्छ। यता, इरानले अमेरिकासँग जारी अप्रत्यक्ष वार्ता तत्कालका लागि स्थगित गरेको छ। साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई फोर्डो, नतान्ज र इस्फहानस्थित प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णय पनि गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवीय आधारमा इरानलाई अन्त्येष्टि सम्पन्न गर्न एक साताको समय दिएको दाबी गरेका छन्। उक्त अवधि सकिएपछि इरानले अमेरिकी सर्तहरू स्वीकार गर्नुपर्ने उनको भनाइ छ। खामेनीको निधनपछि इरानले आफ्नो सुरक्षा र सैन्य रणनीतिमा समेत परिवर्तनको संकेत दिएको छ। नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको नेतृत्वमा इरानले थप आक्रामक सुरक्षा नीति अवलम्बन गर्न सक्ने विश्लेषण गरिएको छ। भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले अब होर्मुज जलडमरूमध्यलाई रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गर्न सक्ने संकेत दिएको छ। इरानले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ, "यदि इरानमा शान्ति हुँदैन भने विश्वको तेल आपूर्ति पनि सामान्य रहन दिइने छैन।"
असमको जोरहाटस्थित भारतीय वायुसेनाको एयरबेसमा शनिबार एएन–३२ मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ । अवतरणका क्रममा विमानमा आगलागी भएपछि यो दुर्घटना भएको हो । प्रारम्भिक जानकारीअनुसार विमानले एयरबेसको रनवेमा सुरक्षित अवतरण गरेको थियो । तर अवतरण लगत्तै विमानबाट अचानक आगोको मुस्लो निस्किएको देखिएपछि दुर्घटना भएको हो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र दौडधूप मच्चिएको थियो र वायुसेनाको आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ एयरबेसका दमकल गाडीहरू र द्रुत प्रतिक्रिया टोली घटनास्थलमा पुगेका थिए । आगो नियन्त्रणमा लिन तथा विमानमा सवार चालक दल र अन्य कर्मीलाई सुरक्षित रूपमा बाहिर निकाल्न तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो । हालसम्म भारतीय वायुसेनाले विमानमा सवार व्यक्तिहरूको अवस्था तथा दुर्घटनाको वास्तविक कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ। मेक्सिकोको प्रसिद्ध एस्ताडियो एज्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल राति पौने १ बजे सुरु हुने छ। यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ। त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १६ भव्य रङ्गशालामा रहने छ। विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ। विश्वकप २००२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए। विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ। त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन्। ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ। त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान ग गर्नेछन्। फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र कप भेर्डे, कुराकाओ, उज्वेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन्। यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ। विश्वकपमा कुल १०४ खेल हुन्छन्। अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल पनि छन्। यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डालास, ह्युस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ। मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टर्री र ग्वाडालजारामा कुल १३ खेल खेलिने छ। क्यानडाको भागमा पनि १३ खेल परेका छन्। ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन्। मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ। मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरेको हो। क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ। विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ। त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ। जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन । यति ठूलो मञ्चमा नेमार, किलियन एम्बापे, लामिने यमाल, ओसमान डेम्बेले, इर्लिङ हल्यान्ड, मोहम्मद सलाह जस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ। तर यसपालि पनि चर्चा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोकै हुने पक्का छ। यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुँदै छ। यी दुवै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन्। यसै गरी प्रत्येक संस्करणमा जस्तै चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका केही उत्कृष्ट खेलाडी पनि यस पटक अभाग्यशाली साबित भएका छन्। फ्रान्सका ह्युगो इकितिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, इङ्ल्यान्डका कोल पाल्मर, फिल फोडेन, अर्जेन्टिनाका पाउलो डिबाला, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जर्जियाका कभारा कँभित्सखेलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई जस्ता खेलाडी दर्शकमा सीमित भएका छन्। विश्वकपमा अत्यधिक गर्मी पनि चुनौती हुने छ। यस विश्वकपमा कुल पुरस्कार राशि ६५१ मिलियन डलर रहेको छ। यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो। यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्ने छ।
विश्वभर सन् २०२५ मा राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो सङ्ख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको हो । यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको सङ्केत दिएको छ । नर्वेको ओस्लोस्थित शान्ति अनुसन्धान संस्था द्वारा प्रकाशित वार्षिक ‘द्वन्द्व प्रवृत्ति’ प्रतिवेदनले सन् २०२५ मा कम्तीमा एउटा राज्य संलग्न ६५ वटा सशस्त्र द्वन्द्व विश्वभर दर्ता गरिएको जनाएको छ । यो सङ्ख्या सन् १९४६ यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा भारत–पाकिस्तान, अफगानिस्तान–पाकिस्तान, कम्बोडिया–थाइल्यान्डबीचका सीमा तनावसँगै रुसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कारबाहीजस्ता घटनाले विश्वमा राज्य–राज्यबीचका द्वन्द्वलाई ८० वर्षयताकै उच्च विन्दुमा पुर्याएको उल्लेख गरिएको छ । अनुसन्धानकर्ता सिरी आस रुस्तादले एएफपीसहितका सञ्चारमाध्यमसँग कुरा गर्दै पछिल्लो वर्षको अवस्था अत्यन्त निराशाजनक रहेको बताए । उनले सामान्यतया केही सकारात्मक प्रवृत्ति देखिने भए पनि यसपटक तथ्याङ्क असामान्य रूपमा उच्च रहेको टिप्पणी गरे । प्रतिवेदनअनुसार शीतयुद्धको अन्त्यपछिको अवधि हेर्दा सन् २०२५ तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ । सो वर्ष करिब दुई लाख ४५ हजार मानिसको मृत्यु प्रत्यक्ष लडाइँ वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान गरिएको छ । तीमध्ये करिब ७६ हजार ५०० घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन् । यो सन् २०२४ को १४ हजार २०० भन्दा धेरै गुणा बढी हो । विशेषगरी सुडानमा सेनाबीचको द्वन्द्वले ठूलो मानवीय सङ्कट निम्त्याएको प्रतिवेदनले औँल्याएको छ । डार्फर क्षेत्रको एल–फासेर सहरमा भएको घेराबन्दी र हिंसात्मक घटनाका कारण मात्र करिब ६० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यसलाई पछिल्ला दशकहरूकै सबैभन्दा गम्भीर नागरिक क्षति भएका घटनामध्ये एकका रूपमा लिइएको छ । प्रतिवेदनले शीतयुद्धपछि सन् १९९४ को रुवान्डा नरसंहार र सन् २०२१ को इथियोपियाको टिग्रे युद्धपछि यति ठूलो मात्रामा रक्तपात देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ । विश्लेषकहरूले अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको बताएका छन्, जहाँ राज्य–सम्बन्धित २९ वटा प्रमुख द्वन्द्व दर्ता गरिएको छ । त्यसपछि एसिया, मध्यपूर्व, अमेरिका र युरोप रहेका छन् । सिरी आस रुस्तादले पछिल्ला पाँच–छ वर्षमा एकै समयमा धेरै ठूला द्वन्द्व सक्रिय रहेको र ती एक–अर्कासँग जोडिँदै विश्वव्यापी तनाव झन् गहिरिँदै गएको बताए । उनका अनुसार विश्व अहिले निरन्तर उच्च तीव्रताको द्वन्द्व चक्रमा फसेको छ, जुन पहिलेको अवस्थाभन्दा फरक र झन् जटिल बनेको छ । प्रतिवेदनले उप्पसाला द्वन्द्व तथ्याङ्क कार्यक्रम र उप्पसाला विश्वविद्यालयद्वारा सङ्कलित तथ्याङ्कलाई आधार बनाएको हो । यसले सशस्त्र हिंसालाई तीन श्रेणीमा विभाजन गरेको छ—राज्य संलग्न द्वन्द्व, गैर–राज्य द्वन्द्व र नागरिकमाथि एकतर्फी हिंसा । क्षेत्रीय विश्लेषणअनुसार अफ्रिका सबैभन्दा बढी प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द्व तीव्र बनेका छन् । अमेरिकामा केही क्षेत्रमा हिंसात्मक घटनामा वृद्धि देखिएको छ भने युरोपमा रुस–युक्रेन युद्धका कारण अस्थिरता कायमै रहेको प्रतिवेदनले जनाएको छ । इजरायललाई लिएर गरिएको विश्लेषणमा गाजा, सिरिया, लेबनान, इरान र हुथी विद्रोहीविरुद्धका विभिन्न सैन्य कारबाहीका कारण उक्त देश हाल विश्वका सबैभन्दा आक्रामक सैन्य सक्रियतामा रहेकोमध्ये एक भएको टिप्पणी गरिएको छ । त्यसैगरी संयुक्त राज्य अमेरिकाको सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि हिंसा र सैन्य–आर्थिक दबाब दुवै बढेको टिप्पणी गरिएको छ । रुस्तादका अनुसार बढ्दो व्यापार अवरोध र अन्तर्राष्ट्रिय सहकार्य कमजोर हुँदा विश्व थप ध्रुवीकृत बन्दै गएको छ । उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् प्रभावहीन बन्दै गएको र अन्तर्राष्ट्रिय सहकार्यमा कमी आउँदा विश्वव्यापी द्वन्द्व नियन्त्रण झन् कठिन हुँदै गएको पनि उल्लेख गरे ।
काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडो मा शनिबारदेखि सुरु भएको छ।सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले तथा बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा ले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. लम्सालले अनेसास नेपाली भाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसदका रूपमा स्थापित भएको बताए। उनले नेपालको सीमाभन्दा बाहिर सिर्जना हुने नेपाली साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य पूर्ण हुन नसक्ने धारणा व्यक्त गरे। सम्मेलनमा मदन पुरस्कार विजेता डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल तथा आचार्य राजन लाई सम्मान गरिएको थियो। अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सुरु भएको सम्मेलनमा संयोजक तथा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारी ले गरेका थिए। तीन दिनसम्म चल्ने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’ लगायत विषयमा विभिन्न सत्र तथा छलफल आयोजना गरिएका छन्। सम्मेलनमा नेपाली डायस्पोरामा फैलिँदै गएको नेपाली साहित्यबारे लेखक, पत्रकार तथा साहित्यकारबीच विमर्श भइरहेको छ। सम्मेलनमा एनआरएनए एनसीसी अमेरिका का अध्यक्ष सतेन्द्र साह, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, लेखक सुधीर शर्मा, सम्पादक बसन्त बस्नेत, बबिता बस्नेत, पूर्वअध्यक्ष बिपुल पोखरेल लगायत नेपाल, अमेरिका र युरोपबाट आएका करिब २०० साहित्यकार, पत्रकार तथा प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलन सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिका र इरानबीचको वार्ता रचनात्मक ढङ्गले अघि बढिरहेको उल्लेख गरेका छन्। उनले दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। यसअघि ट्रम्पले सम्झौता लगभग तय भइसकेको संकेत दिएका थिए। चर्चामा रहेको सम्भावित समझदारीमा ६० दिनको युद्धविराम अवधि थप गर्ने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने योजना समावेश रहेको बताइएको छ। शनिबार ट्रम्पले सम्झौता धेरै हदसम्म अन्तिम चरणमा पुगेको बताएका थिए, जसपछि औपचारिक घोषणा छिट्टै हुन सक्ने अनुमान गरिएको थियो। इरानी पक्षबाट पनि सकारात्मक संकेत देखिएको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाई ले दुवै पक्ष सम्झौतामा निकै नजिक पुगेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार प्रस्तावित सहमति अन्तिम समाधान नभई अस्थायी समझदारी मात्रै हो। यसअन्तर्गत इरानमाथिका प्रतिबन्ध हटाउने समयसीमा, रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने विषय तथा वासिङ्टनले इरानको आणविक कार्यक्रम सीमित गर्न राखेका मागहरू जस्ता जटिल मुद्दा आगामी चरणको वार्तामार्फत टुंग्याइने जनाइएको छ।
काठमाडौं – बङ्गलादेश को मध्य क्षेत्रमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। फलामका रड तथा अतिरिक्त यात्रु बोकेको ट्रक अनियन्त्रित भएर पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटना राजधानी ढाका बाट करिब ८३ किलोमिटर उत्तर–पश्चिममा रहेको टाङ्गाइल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो। स्थानीय प्रहरी प्रमुख फुआद हुसेन का अनुसार चालकले नियन्त्रण गुमाएपछि ट्रक सडकमा पल्टिएको थियो। प्रहरीका अनुसार ट्रकले हिचहाइक गरेर यात्रा गरिरहेका यात्रुहरू बोकेको थियो र ढाकाबाट उत्तरी क्षेत्रतर्फ गइरहेको थियो। दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। यो घटना इस्लामिक पर्व ईद अल-अधा नजिकिँदै गर्दा भएको हो। आगामी बिहीबार मनाइने पर्वका लागि देशभर मानिसहरू परिवारसँग भेट्न यात्रा गरिरहेका बेला दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेकामध्ये अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरूले ठूलो आवाज सुनेपछि घटनास्थलमा पुगेर ट्रकभित्र फसेका यात्रुहरूको उद्धार प्रयास गरेको बताएका छन्। बङ्गलादेशमा ट्राफिक नियमको कमजोर पालना, खराब सडक अवस्था तथा लापरवाह सवारी सञ्चालनका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्। सत्र करोडभन्दा बढी जनसङ्ख्या रहेको देशमा हरेक वर्ष सडक दुर्घटनाबाट हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन्।
काठमाडौँ – मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दबाब बढिरहेका बेला भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य पुनः वृद्धि गरेका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको मूल्यवृद्धिले भारतीय इन्धन बजारमा अस्थिरता थप बढाएको छ। फेब्रुअरीदेखि युद्ध सुरु भएयता भारतमा पेट्रोलियम पदार्थको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। विशेषगरी इरान र हर्मुज जलघाँटी क्षेत्रमा बढ्दो तनावका कारण विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग प्रभावित बनेपछि यसको प्रत्यक्ष असर भारतीय बजारमा परेको हो। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले आफ्नो आवश्यकताको झण्डै आधा तेल हर्मुज जलघाँटीमार्फत आयात गर्दै आएको छ। आपूर्ति जोखिम बढ्दै जाँदा भारतभित्र इन्धन मूल्य समायोजनको दबाब पनि तीव्र बनेको विश्लेषण गरिएको छ। नयाँ मूल्यसूचीअनुसार राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९९.५ रुपैयाँबाट बढेर १०२.१२ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९५.२० रुपैयाँ पुगेको छ। औसतमा देशभर पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँभन्दा बढीले बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो मूल्यवृद्धि प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति जोगाउन इन्धन खपत नियन्त्रण आवश्यक रहेको अभिव्यक्ति दिएको केही दिनपछि आएको हो। उनले आयातमा बढ्दो खर्च व्यवस्थापन गर्न ऊर्जा उपभोगमा अनुशासन आवश्यक रहेको बताएका थिए। यसबीच भारतले मध्यपूर्वबाट हुन सक्ने आपूर्ति कमी पूर्ति गर्न रूसबाट कच्चा तेल आयात बढाएको छ। जहाज ट्र्याकिङ तथा आयात तथ्याङ्कहरूले भारत वैकल्पिक ऊर्जा स्रोततर्फ तीव्र रूपमा उन्मुख भइरहेको देखाएका छन्। पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीले तेल बिक्री गर्ने कम्पनीहरू आर्थिक रूपमा ठूलो दबाबमा रहेको स्वीकार गरेका छन्। उनका अनुसार कम्पनीहरूले दैनिक करिब १२ करोड अमेरिकी डलरसम्म घाटा व्यहोर्नुपरेको छ। यद्यपि, उनले देशमा इन्धन आयात र आपूर्ति व्यवस्था निरन्तर कायम रहेको दाबी गरेका छन्। मध्यपूर्वीय युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर बन्दै जाँदा भारतले एकातर्फ आन्तरिक मूल्य समायोजन गरिरहेको छ भने अर्कोतर्फ वैकल्पिक आपूर्ति स्रोत विस्तारमा पनि जोड दिएको देखिएको छ।
डोनाल्ड ट्रम्प ले इरान सँग महत्वपूर्ण सम्झौता हुन लागेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले पनि वार्तामा उल्लेखनीय प्रगति भएको खुलासा गरेका छन् । यद्यपि इरानले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन, दुई पक्ष सम्झौताको प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षरको नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्झौताको मस्यौदाअनुसार हाल कायम युद्धविरामलाई थप ६० दिन लम्ब्याउने तयारी गरिएको छ । सो अवधिमा इरानले हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला गर्ने, जहाजसँग कुनै शुल्क नलिने तथा जलमार्गमा राखिएका धराप हटाउन सुरु गर्ने बताइएको छ । यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथि लगाइएको नाकाबन्दी हटाउने तथा इरानी तेल स्वतन्त्र रूपमा निर्यात गर्न पाउने गरी आर्थिक प्रतिबन्ध खुकुलो बनाउने तयारी गरेको बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानले जलमार्ग सुरक्षित बनाउने प्रक्रिया जति छिटो अघि बढाउँछ, त्यति नै छिटो प्रतिबन्ध हटाइनेछ । इरानले विदेशमा रोक्का गरिएको आफ्नो रकम तत्काल फुकुवा गर्नुपर्ने माग राखेको छ । तर अमेरिकी पक्षले अन्तिम सम्झौता भएपछि मात्र त्यसबारे निर्णय हुने अडान लिएको जनाइएको छ । साथै, क्षेत्रीय तनाव कम भएमा सो क्षेत्रमा परिचालित अमेरिकी सैनिकहरू ६० दिनपछि फिर्ता हुनसक्ने उल्लेख गरिएको छ । सम्झौताको अर्को संवेदनशील विषय इरानको आणविक कार्यक्रम हो । एमओयूको मस्यौदामा इरानले भविष्यमा कहिल्यै पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने उल्लेख छ । तर युरेनियम प्रशोधन कार्यक्रम बन्द गर्ने प्रक्रिया तथा प्रशोधित सामग्री व्यवस्थापनबारे छलफल अझै जारी रहेको बताइएको छ । यसैबीच, सम्झौतामा इजरायल ले लेबनान माथि जारी राखेको सैन्य आक्रमण रोक्ने विषय पनि समावेश हुनसक्ने जनाइएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियन ले सर्वोच्च नेतृत्वको स्वीकृतिबिना कुनै अन्तिम सहमति नहुने स्पष्ट पारेका छन् । पाकिस्तान तथा पश्चिम एसियाली मुलुकहरूको मध्यस्थतामा अमेरिका–इरान वार्ता जारी रहे पनि बेन्जामिन नेतन्याहु नेतृत्वको इजरायली पक्ष भने सम्भावित सम्झौताप्रति असन्तुष्ट देखिएको छ । नेतन्याहुले शनिबार ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए । ह्वाइट हाउसका अधिकारीहरूले छिट्टै सहमति हुनसक्ने आशा व्यक्त गरेका छन् । तर इरान वार्तामा गम्भीर नभए युद्धविराम अवधि पूरा नहुँदै सहमति भंग हुनसक्ने चेतावनी पनि अमेरिकी पक्षले दिएको छ ।
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check