नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना जगाउन ‘ग्रीन रन’ आयोजना गरेको छ । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउने क्रममा आज काठमाडौंमा कांग्रेसले ‘ग्रीन रन’ गरेको हो । कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता तथा कार्यकर्ताहरू सहभागिता थियो । कार्यक्रममा ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ पाँच किलोमिटर दौड आयोजना गरिएको हो । दौडपछि जलवायु परिवर्तनका विषयमा छलफल कार्यक्रम पनि राखिएको छ । कांग्रेसले भोलि थप कार्यक्रमसहित दिसव बनाउने जनाएको छ ।
कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले कोशी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको प्रक्षेपण गरिएको हो। आज दिउँसो कोशी प्रदेशका तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ भने पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल कोशीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यसैगरी रातिको समयमा पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशीका हिमाली क्षेत्रमा समेत चट्याङ्गसहित वर्षाको सम्भावना देखिएको छ। देशभरकै मौसमको अवस्था हेर्दा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। कोशीका अतिरिक्त बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा नदीमा जलस्तर बढ्न सक्ने जोखिम रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।
नेपालमा पछिल्ला तीन महिनामा विपद्का घटनाले भयावह रूप लिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार ३२ गतेसम्म देशभर तीन हजार २९६ वटा विपद्का घटना भएका छन्। ती घटनामा १६० जनाले ज्यान गुमाएका छन्, दुई जना अझै बेपत्ता छन् भने ९४५ जना घाइते भएका छन्। यस अवधिमा चार हजार ३७५ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। सबैभन्दा धेरै ८९७ वटा आगलागीका घटना भएका छन्, जसमा १७ जनाको मृत्यु भएको छ। त्यसपछि ५१४ वटा सर्पदंशका घटनामा ३८ जनाले ज्यान गुमाएका छन्। ४७७ वटा हुरीका घटनामा १३ जनाको मृत्यु, ४३३ वटा पहिरोमा १२ जनाको ज्यान गएको छ। चट्याङका २२३ घटनामा २४ जनाले ज्यान गुमाएका छन् भने वन्यजन्तुको आक्रमणबाट पनि १७ जनाको मृत्यु भएको छ। यस्तै, बाढी, भारी वर्षा, वन डढेलो, हिउँपहिरो र लेक लाग्ने घटनाले पनि ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। लेक लागेर मात्रै २१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। मनसुन अझै जारी रहेकाले सम्बन्धित निकायले सबै नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको छ।
नेपालमा यस वर्षको मनसुन प्रणाली आजदेखि देशैभर सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन करिब १२ दिनपछि सम्पूर्ण देशभर फैलिएको हो। महाशाखाका अनुसार यस वर्ष मनसुन असार ५ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्दै कोशी प्रदेशका केही क्षेत्रमा सीमित भएको थियो। त्यसपछि असार ८ गतेदेखि कोशी प्रदेशका बाँकी भाग, मधेश, बागमती, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन विस्तार भएको थियो। सामान्यतया नेपालमा मनसुन जुन १३ तारिख (जेठ ३०/३१ गते आसपास) पूर्वी नेपालबाट प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी नेपाल प्रवेश गरेको र देशभर फैलिन पनि करिब १२ दिन लागेको महाशाखाले जनाएको छ। देशभर मनसुन सक्रिय भएसँगै आगामी दिनमा धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानको जानकारी लिँदै सुरक्षित रहन अनुरोध गरेको छ।
कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई ठाउँमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसो पनि कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने देखिन्छ । यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पनि वर्षाको सम्भावना भएपनि ठूलो पानी पर्ने सम्भावना भने छैन । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो लहरको अवस्था कायम रहेको छ । बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि तातो दिन रहने अनुमान छ । अत्यधिक गर्मी हुने क्षेत्रमा जनस्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ । विशेषगरी कोशी प्रदेशमा सम्भावित ठूलाे वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र डुबानको जोखिम रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । साथै पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर जारी रहने भएकाले दिउँसोको समयमा घाममा ननिस्कन र पर्याप्त पानी पिउन पनि सुझाव दिइएको छ ।
हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका केहि स्थानमा तथा मधेस प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश र अन्य हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केहि स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
हरेक वर्षको जेठ र असार महिना नेपाली राजनीति र अर्थतन्त्रका लागि ‘उत्सव र आशाको ऋतु’ बन्ने गर्दछ। सरकारले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले नागरिकमा नयाँ उत्साह जगाउँछ भने त्यसलगत्तै आउने बजेटले ती सपनालाई साकार पार्ने आर्थिक इन्जिनको काम गर्छ। सैद्धान्तिक रूपमा नीति तथा कार्यक्रम भनेको मार्गचित्र (म्याप) हो र बजेट भनेको गन्तव्यसम्म पुग्ने साधन र इन्धन हो। तर, कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र हालै सार्वजनिक बजेट वक्तव्यलाई गहिरिएर समीक्षा गर्दा मार्गचित्र एकातिर र गाडी अर्कोतिर कुदेको त होइन भन्ने गम्भीर प्रश्न उठ्छ। नीति तथा कार्यक्रममा देखाइएका ठूला र आकर्षक सपनाहरू बजेटको थैली खोल्दा कसरी हराए वा ओझेलमा परे? यो केवल कोशी प्रदेशको मात्र होइन, समग्र संघीयता कार्यान्वयनकै एउटा पेचिलो समीक्षात्मक पाटो बनेको छ। १. ‘स्वच्छ र समुन्नत प्रदेश’ नाराः बजेटमा परम्परागत पारा सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को दीर्घकालीन र आदर्शवादी सोच अघि सारेको थियो। सुन्दा निकै कर्णप्रिय लाग्ने यो नाराले प्रदेशवासीमा एक खालको भरोसा पनि जगाएको थियो। तर, जब आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गरे, तब नीतिगत आदर्श र वित्तीय यथार्थबीचको खाडल स्पष्ट देखियो। बजेटको ठूलो हिस्सा (करिब १२ अर्ब ३८ करोड रुपैयाँ) सडक पूर्वाधार र सहरी विकासजस्ता परम्परागत भौतिक संरचनामै केन्द्रित भयो। पूर्वाधार विकास आफैंमा नराम्रो होइन। तर नीतिले परिकल्पना गरेको ‘समुन्नत’ र ‘सुखी’ नागरिक निर्माणका लागि आवश्यक मानवीय तथा सामाजिक पुँजी विकासका कार्यक्रमहरू बजेटका प्राथमिकताभित्र अपेक्षित रूपमा देखिएनन्। २. निजी क्षेत्र र लगानी आकर्षणः नीतिमा गर्जन, बजेटमा सन्नाटा नीति तथा कार्यक्रमको एउटा बलियो खम्बा थियो— स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत तथा कार्यविधिगत सुधार गर्दै प्रदेशलाई लगानीमैत्री बनाउने। प्रदेशको विकास केवल सरकारी ढुकुटीबाट सम्भव छैन भन्ने बुझाइका आधारमा निजी क्षेत्रलाई विकासको साझेदार बनाउने रणनीति अघि सारिएको थियो। तर बजेट वक्तव्यमा फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउने जस्ता सीमित विषयबाहेक ठूला लगानी भित्र्याउने कुनै ठोस वित्तीय प्याकेज, कर छुट, सहुलियत वा ‘प्रदेश लगानी प्राधिकरण’ लाई प्रभावकारी बनाउने रणनीतिक योजना देखिँदैन। नीतिमा ठूलो गर्जन सुनियो, तर बजेटमा लगानी आकर्षणको सवाल लगभग मौन रह्यो। ३. हरित रोजगारी र वन उद्यमः नाराभित्र खुम्चिएको सम्भावना कोशी प्रदेश वन, जडीबुटी तथा प्राकृतिक स्रोतका हिसाबले नेपालकै धनी प्रदेश हो। नीति तथा कार्यक्रमले वन क्षेत्रको दिगो व्यवस्थापन, जडीबुटी तथा नगदे वनबालीको व्यावसायिकीकरणमार्फत व्यापक ‘हरित रोजगारी’ सिर्जना गर्ने र युवालाई स्वदेशमै रोक्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो। बजेटले ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ कार्यक्रमका लागि १८ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ। साथै बाँस, तेजपत्ता र रुद्राक्ष खेतीलाई प्रोत्साहन गर्ने योजना पनि ल्याइएको छ। तर नीतिले परिकल्पना गरेजस्तो वनमा आधारित उद्योग स्थापना, मूल्य शृंखला विकास तथा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने दीर्घकालीन औद्योगिक खाका बजेटको प्राथमिकतामा पर्न सकेन। सम्भावनायुक्त हरित अर्थतन्त्र वन संरक्षणको सीमित घेराभित्रै खुम्चिएको देखिन्छ। ४. डिजिटल शिक्षा र नवप्रवर्तनः सहरमा आइटी, गाउँमा अन्धकार शिक्षा क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने नीतिगत संकल्प सकारात्मक थियो। यसैअनुसार धनकुटामा आइटी पार्कका लागि २ करोड रुपैयाँ विनियोजन गर्नु र ५ हजार युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिने घोषणा गर्नु स्वागतयोग्य सुरुवात हुन्। तर प्रश्न उठ्छ— के कोशी प्रदेशको डिजिटल शिक्षाको आवश्यकता केवल ५ हजार युवालाई एआई तालिम दिएर पूरा हुन्छ? नीतिले दुर्गम पहाडी तथा हिमाली क्षेत्रका सरकारी विद्यालयहरूको डिजिटल रूपान्तरण र स्मार्ट कक्षाकोठा निर्माणको कुरा गरेको थियो। तर बजेटले ती विद्यालयहरूको आधारभूत डिजिटल पूर्वाधार विकासलाई पर्याप्त प्राथमिकता दिएको देखिँदैन। परिणामतः प्रविधि विकासका कार्यक्रम सहरी केन्द्रमै सीमित हुने जोखिम देखिएको छ। ५. सामाजिक न्याय र सीमान्तकृत वर्गः सिद्धान्तमा स्थान, स्रोतमा उपेक्षा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्ग, समुदाय, महिला, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समूहलाई विकासको मूल प्रवाहमा ल्याउने प्रतिबद्धता नीति तथा कार्यक्रमको सबल पक्ष थियो। बजेटले सीमान्तकृत किसानका लागि साना सोलार सिँचाइ कार्यक्रम तथा ‘जनता आवास कार्यक्रम’ का लागि ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेर केही राहत दिने प्रयास गरेको छ। तर आदिवासी जनजाति, दलित, महिला तथा अन्य उत्पीडित समुदायको दीर्घकालीन सशक्तीकरणका लागि आवश्यक विशेष सामाजिक सुरक्षा, उद्यमशीलता तथा आर्थिक उत्थानका प्याकेजहरू बजेटको प्राथमिकतामा पर्न सकेका छैनन्। ६. वित्तीय संघीयता र समन्वयको कडी कहाँ टुट्यो? संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता नीति तथा कार्यक्रममा थियो। तर बजेटले पुरानै समानीकरण, सशर्त तथा समपूरक अनुदानको ढाँचा मात्रै पछ्याएको देखिन्छ। स्थानीय तह र प्रदेशबीच प्राकृतिक स्रोत— ढुंगा, गिटी, बालुवा तथा वनजन्य स्रोतको राजस्व बाँडफाँटमा देखिएका समस्या समाधान गर्ने वा एकीकृत राजस्व व्यवस्थापन प्रणाली विकास गर्ने नवीन वित्तीय मोडेल बजेटमा समावेश हुन सकेन। यसले संघीयताको मर्मअनुसार वित्तीय स्वायत्तता र समन्वयलाई थप कमजोर बनाउने जोखिम देखिन्छ। ७. सिद्धान्त र व्यवहारको नमेटिने दूरी कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटबीचको सम्बन्धलाई हेर्दा एउटा कुरा स्पष्ट हुन्छ— नीति तथा कार्यक्रम बनाउँदा हामी आदर्शवादी बन्छौं, तर बजेट निर्माणका बेला परम्परागत सोचमै सीमित रहन्छौं। उपलब्ध सीमित स्रोत, बढ्दो चालु खर्च र आर्थिक दबाबका कारण नीतिमा उल्लेख गरिएका सबै योजना बजेटमा समेट्न नसकिने यथार्थलाई स्वीकार गर्न सकिन्छ। तर दूरगामी महत्वका रणनीतिक कार्यक्रमहरू नै प्राथमिकताबाट बाहिरिनु वित्तीय अनुशासनभन्दा बढी राजनीतिक इच्छाशक्ति र प्राथमिकताको प्रश्न हो। कागजमा उत्कृष्ट नीति कोर्नु मात्र उपलब्धि होइन, त्यसलाई नागरिकको जीवनस्तर, आम्दानी र अवसरसँग जोड्ने बजेटको स्पष्ट प्रतिबद्धता आवश्यक हुन्छ। कोशी प्रदेश सरकारले आगामी दिनमा नीतिमा लेखिने तर बजेटमा नदेखिने यो ‘द्वैध चरित्र’ सुधार्न सकेन भने वार्षिक बजेट केवल अंकहरूको जोडघटाउ र तलब–भत्ता व्यवस्थापनको औपचारिक दस्तावेजमा सीमित हुनेछ। अनि ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को सपना नागरिकका लागि सधैं अधुरै रहनेछ।
इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको अधिकांश समय नर्सरीमै बित्ने गरेको छ । बिहानदेखि साँझसम्म उहाँ नर्सरीका बिरुवाको स्याहारसुसार, मलजल गर्ने, ग्राहकको माग व्यवस्थापन तथा बिरुवा बिक्रीवितरणमै व्यस्त हुनुहुन्छ । उहाँले १० वर्षअघि स्थापना गर्नुभएको ‘बाङदेल नर्सरी सेन्टर’ आज जिल्लास्तरमा गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्रीका लागि परिचित बन्दै गएको छ । यही नर्सरी व्यवसायबाट उहाँले राम्रो आम्दानी गर्दै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले विभिन्न प्रजातिका बिरुवा बिक्री गरेर वार्षिक करिब रु ३० लाख आम्दानी गर्दै आउनुभएको छ । विगत १० वर्षदेखि बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आउनुभएका बाङदेलले कफीसहित विभिन्न वन तथा फलफूलजन्य प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । गुणस्तरीय बिरुवा उत्पादन र व्यावसायिक नर्सरी सञ्चालनमार्फत उहाँ जिल्लाकै सफल तथा नमूना बिरुवा उत्पादक किसानको रूपमा परिचित बन्नुभएको छ । स्थानीय फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा उहाँले बिरुवा उत्पादनका लागि नर्सरी स्थापन गर्नुभएको छ । उहाँको नर्सरीमा कफीसहित वनजन्य लाम्पाते, सिमल, पानीसाज, खयर, खमारी, रुद्राक्ष एवं फलफूलजन्य एभोकार्डो, कागती, आँप, लिचीलगायतको बिरुवा उत्पादन हुँदै आएको छ । उहाँले सबैभन्दा धेरै कफी र लाम्पातेको बिरुवा उत्पादन गर्दै आउनुभएको छ । उहाँले टनेलभित्र कफी र लाम्पातेको बिरुवा ३०–३० हजार बोट, पानीसाज र खमारीको बिरुवा १०–१० हजार बोट, सिमल, खयर र रुद्राक्षको बिरुवा दुई–दुई हजार बोट तथा आँप, लिची, एभोकाडो र कागतीको बिरुवा एक–एक हजार बोट उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार कफीको बिरुवा जमिनको प्रतिगोटा रु २० का दरले र पोलिब्यागको प्रतिगोटा रु २५ का दरले नर्सरीबाटै बिक्री भइरहेको छ । अन्य वन तथा फलफूलजनन्य बिरुवा सबै प्रतिगोटा रु ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको छ । सिजनमा बिरुवा लिन नर्सरीमै आउनेको घुइँचो लाग्ने गरेको उहाँले बताउनुहुन्छ । “कफीसहित वन तथा फलफूलजन्य बिरुवा बिक्रीबाट वार्षिक रु ३० लाख आम्दानी हुँदै आएको छ”, उहाँले बताउनुभयो, “अहिले धान्न नसकिनेगरी बिरुवाको माग आउन थालेको छ, यहाँ उत्पादित बिरुवा इलामसहित तथा बाहिरका समेत जाने गरेको छ ।” बिरुवा इलामका विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानहरूले खरिद गरी लैजाने गरेको उहाँको भनाइ छ । त्यस्तै पूर्वका पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुरदेखि पश्चिम पाल्पा तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेको उहाँले बताउनुभयो । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उहाँको भनाइ छ । उहाँको नर्सरी सेन्टरबाट आफू त स्वरोजगार बन्नुभएकै छ, स्थानीय १० जनाले दैनिक ज्यालादारीमा रोजगारीसमेत पाएका छन् । ‘नर्सरी सेन्टरमा म आफैँ खट्ने गरेको छु, त्यसबाहेक १० जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको छु”, उहाँले भन्नुभयो, “आफू स्वरोजगार भइ अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।” उहाँले पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बसेर बिरुवा उत्पादन सुरु गरेको बताउनुहुन्छ । “बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसियक रूपमा बिरुवा उत्पादन सुरु गरेको हुँ”, बाङदेल भन्नुहुन्छ, “निरन्तरता दिएर नवीनतम ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाइ गर्न सकिन्छ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।” कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उहाँको भनाइ छ । कफी र लाम्पातेलाई प्राथमिकतामा राखेर धेरैभन्दा धेरै बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नर्सरी विस्तार गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादन व्यवसायलाई नै निरन्तरता दिने उहाँको भनाइ छ ।
पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् । माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गरेका छन् । ‘मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु’, उनले भने, ‘प्रतिकेजी रु ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।’ एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकाले व्यावसायिक सुपारीखेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । राई सानाठूला गरी करिब पाँच हजार बोट सुपारी रोपेकामा अधिकांश बोटले आम्दानी दिन थालिसकेका छन् । अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको सुनाउनुभयो । केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकाले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए। पुरीले करिब १० रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाएको छ भने थप बोट रोप्ने तयारी गरेका छन् । ‘अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले व्यावसायिक तवरले सुपारीखेती सुरु गरेको हुँ’, उनले भने, ‘बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन । व्यापारीहरूले बगानबाटै प्रतिकेजी ७० सम्ममा किनेर लैजाने गरेका छन् ।’ सुपारीखेती सुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउँछन्। ‘मैले करिब आठ हजार बोट रोपेको छु । केही बोटबाट आम्दानी हुन थालेको छ’, उनले भने, ‘यस वर्ष १० क्विन्टल काँचो सुपारी बिक्री गरेको छु, यसले घरखर्च टार्न सहज भएको छ ।’ किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कंदै गरेका छन् । ‘बहुवर्षे नगदेबाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ । यसले क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदासमेत लिन सकिन्छ’, उनले भने। अर्का किसान अभिषेक यक्तेनले घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभायिन्वत भएको बताए। पछिल्लो समय इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । विशेष गरी जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् ।
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check