काठमाडौं । व्यवसायी तथा टिकटक प्रयोगकर्ता तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ। बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्लाकै आदेशलाई निरन्तरता दिएको हो।
अधिकारीलाई गत जेठ १७ गते इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।
ललितपुर जिल्ला अदालतले गत जेठ २१ गते नै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध अधिकारीले थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्। तर उच्च अदालतले जिल्ला अदालतको निर्णय परिवर्तन गर्नुपर्ने आधार नदेखिएको ठहर गरेको छ।
अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ। उनीमाथि आपराधिक लाभ लिएको तथा हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान परिवर्तन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ।
उच्च अदालतको आदेशसँगै अब मुद्दाको अन्तिम फैसला नआएसम्म अधिकारी थुनामै रहेर कानुनी प्रतिरक्षा गर्नुपर्ने भएको छ। यद्यपि उनीमाथि लगाइएका आरोपको अन्तिम निरूपण भने अदालतबाट हुन बाँकी छ।