कनकाई नगरपालिकाले पछिल्ला वर्षहरूमा सडक, पुल, नदी नियन्त्रण तथा अन्य भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरे पनि अबको विकासको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि तथा सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने माग नगरवासीले गरेका छन्। नगरपालिकाले पूर्वाधार क्षेत्रमा गरेका कामप्रति सन्तुष्टि व्यक्त गर्दै स्थानीयवासीले गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, कृषि उत्पादनको बजारीकरण, फोहोर व्यवस्थापन, बजार व्यवस्थापन तथा विपद् न्यूनीकरणलाई आगामी नीति तथा कार्यक्रमको केन्द्रमा राख्नुपर्ने बताएका हुन्। स्थानीय विनोद सुब्बाले अघिल्ला वर्षहरूको तुलनामा नगर क्षेत्रमा सडक तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार भएको बताए। स्थानीय सरकार गठनपछि यातायात पहुँच विस्तार भएको अनुभव सुनाउँदै उनले कृषिका लागि प्रस्तावित पूर्वी नहर निर्माण योजना अझै पूरा हुन नसक्दा किसानले अपेक्षित लाभ लिन नसकेको उल्लेख गरे। कनकाई क्षेत्रको धार्मिक तथा पर्यटकीय पूर्वाधार विस्तारले नगरको पहिचानमा सकारात्मक परिवर्तन ल्याएको भन्दै उनले माई, विरिङ र सुरुङ्गा खोलाबाट हुने कटान तथा बाढीजन्य जोखिमको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। स्थानीय कुमार पाठकले नगर नेतृत्वले उपलब्ध स्रोत–साधनको सीमाभित्र रहेर विकास निर्माणका काम अघि बढाएको बताए। उनले निर्वाचनका बेला गरिएको ऐलानी जग्गाको धनीपुर्जा वितरणसम्बन्धी प्रतिबद्धता अझै कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे। त्यस्तै, स्थानीय लोचन खरेलले सडक, नदी नियन्त्रण तथा गल्ली स्तरोन्नतिमा नगरपालिकाले सकारात्मक काम गरेको बताए। तर सार्वजनिक शौचालय, खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान पुग्न नसकेको उनको धारणा छ। नगर क्षेत्रमा डस्टबिनको अभाव रहेको उल्लेख गर्दै उनले विद्यालयस्तरबाटै लागुऔषध दुव्र्यसन नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। शिक्षा क्षेत्रमा शिक्षकको क्षमता अभिवृद्धि र जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव पनि उनले दिए। जीवनस्तर सुधारमुखी बजेटको अपेक्षा स्थानीय अर्जुन बोहोराले भौतिक पूर्वाधार विकास आवश्यक भए पनि अब नागरिकको जीवनस्तर उकास्ने क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा कृषि उत्पादनको बजारीकरण अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ। उनले उन्नत बीउबिजन, सिँचाइ सुविधा तथा कृषकले उत्पादन गरेको वस्तुको उचित बजार व्यवस्थापनका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए। स्थानीय प्रेमनारायण आचार्यले विकास निर्माणका काम भए पनि शिक्षा क्षेत्र अपेक्षाअनुसार सुधार हुन नसकेको धारणा राखे। विद्यालयमा योग्यता र प्रतिस्पर्धाका आधारमा शिक्षक नियुक्तिको व्यवस्था हुनुपर्ने उनको सुझाव छ। उनले बजार स्थानान्तरणका कारण पुरानो बजार क्षेत्र प्रभावित भएको उल्लेख गर्दै विकास आयोजना कार्यान्वयनअघि त्यसको दीर्घकालीन प्रभावबारे अध्ययन आवश्यक हुने बताए। व्यवसायीका लागि सहज कर प्रणाली र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए। स्थानीय धर्मप्रसाद आचार्यले विकास निर्माणका योजना सबै क्षेत्रमा समान रूपमा पुग्न नसकेको गुनासो गरे। कतिपय स्थानमा एउटै प्रकारका योजना दोहोरिने तर केही क्षेत्र भने उपेक्षामा पर्ने गरेको उनको भनाइ छ। नगरभित्र शिक्षा क्षेत्रमा समान नीति, समान पोसाक र गुणस्तरीय व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले ऐलानी जग्गाको धनीपुर्जा वितरणलाई राजनीतिक मुद्दा नबनाई व्यवहारिक समाधान खोज्नुपर्ने बताए। स्थानीयवासीका धारणा हेर्दा कनकाई नगरपालिकाले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि अब विकासको केन्द्र स्वास्थ्य, शिक्षा र कृषि बन्नुपर्ने अपेक्षा देखिएको छ। नगरवासीले पूर्वाधारसँगै गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, व्यवस्थित बजार, कृषि प्रवर्द्धन, फोहोर व्यवस्थापन तथा विपद् न्यूनीकरणलाई आगामी नीतिको प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्। कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले आगामी नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिने बताइन्। उनका अनुसार नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम अघि बढाइनेछ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन्। महासंघको ६०औं वार्षिक साधारणसभाको उद्घाटनमा सोमबार बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले वर्तमान राजनीतिक अवस्थालाई अभूतपूर्व अवसरका रूपमा व्याख्या गर्दै नीतिगत स्थायित्वको खोजी भइरहेको समयमा संसदमा एकै दलको बलियो उपस्थिति सकारात्मक संकेत भएको बताए। ‘सरकारको स्थायित्वलाई सबै क्षेत्रमा स्थायित्व ल्याउने अवसरका रूपमा उपयोग गर्नुपर्छ,’ उनले भने। ढकालले विगतमा यस्ता अवसरलाई सदुपयोग गर्न नसक्दा मुलुकले अपेक्षित प्रगति गर्न नसकेको उल्लेख गरे। निजी क्षेत्रलाई सम्मानपूर्वक व्यवसाय गर्ने वातावरण दिइएमा आर्थिक विकास तीव्र बनाउन सकिने उनको भनाइ थियो। उनका अनुसार नेपालको जनसांख्यिकीय संरचना पनि विकासका लागि अनुकूल छ। नेपालीहरूको मिडियन उमेर करिब २५ वर्ष रहेको, साथै भारत र चीन जस्ता ठूला बजार नजिकै हुनु नेपालका लागि ठूलो अवसर भएको उनले बताए। विकसित देशहरूमा भन्साररहित बजार पहुँच प्राप्त भइरहेकाले नेपाली उत्पादन विश्व बजारमै प्रतिस्पर्धी बन्न सक्ने सम्भावना रहेको उनले औंल्याए। युवाको आकांक्षा पूरा गर्न रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेकोमा उनले जोड दिए।
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले नेपाल–चीनबीचको सुरक्षा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्। महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको अन्तरक्रियामा उनले द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउन चीन तयार रहेको बताएका हुन्। छलफलका क्रममा नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सुरक्षा चुनौती तथा समकालीन विश्व परिस्थितिका विषयमा विचार आदानप्रदान भएको थियो। सहभागीहरूले दुई देशबीचको सम्बन्धको वर्तमान अवस्था, सहकार्य र भविष्यका सम्भावनाबारे आफ्ना धारणा राखेका थिए। राजदूत चाङले नेपाल–चीन सम्बन्ध निरन्तर प्रगाढ बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा कानुन कार्यान्वयन र सुरक्षा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check