कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित हुँदै गरेको नयाँ राजनीतिक समीकरणको बाछिटा कोशी प्रदेशमा पनि परिरहेकै छ । एमाले नेतृत्वको कोशी सरकारबाट नेपाली कांग्रेस बाहिरिने भनिए पनि सो पार्टीले आधिकारिक निर्णय लिन भने सकेको छैन । यद्यपि प्रदेश सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले भने आन्तरिक छलफललाई तीव्रता दिएका छन् । कांग्रेसले केन्द्रसँग छलफलका लागि कोशी प्रदेश सभा संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्याललाई जिम्मेवारी दिइसकेको छ । उता, एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की केही दिनदेखि राजधानी काठमाडौँमै केन्द्रित भएका छन् । प्रमुख सचेतक रमेशकुमार बस्नेतसहित कार्कीले काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरिरहेको स्रोतको दाबी छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतले पार्टीको केन्द्रीय नेतृत्वलाई कोशी प्रदेशको गम्भीर अवस्थाबारे सचेत गराएको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सहभागी आइतबारको संसदीय विभागको बैठकमा बस्नेतले कोशीको वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । ‘हाम्रो विभागले सात वटै प्रदेशका साथीहरूसँग कुराकानी गरेको थियो । मैले विगतदेखि अहिलेसम्म कोशी प्रदेशमा ५ पटक मुख्यमन्त्री परिवर्तन भएको, सभामुख समेत सरकार फेरबदलमा सहभागी हुनुभएको जस्ता अलि अनौठो अभ्यासको कुरा राखेँ,’ बस्नेतले भने, ‘अहिले कोशी प्रदेश सभामा भएको अङ्कगणितको कुरा पनि राखेँ ।’ यदि बुद्धिमत्तापूर्वक काम भएन भने मध्यावधिमा जान सक्ने विषयमा आफूले सचेत गराएको उनको भनाइ छ । अहिले सरकार गिराउने र बनाउने खेलमा लाग्ने समय नभएको भन्दै उनले बुद्धिमतापूर्वक काम नगरे मध्यावधिमा जानुपर्ने अवस्थाबारे ब्रिफिङ गरेको उनले बताए । ‘अलिकति पनि कहीँ चुक्यौँ भने मध्यावधिमा जान सक्छ । त्यसले गर्दा सावधानीपूर्वक कार्य गर्नुपर्छ भन्ने कुरा हो,’ उनले भने । तर, उक्त बैठकमा वामपन्थी एकता वा सहकार्यका विषयमा पार्टी अध्यक्ष ओलीबाट कुनै पनि निर्देशन नआएको बस्नेतले बताए । ‘त्यस्तो केही पाएको छैन, अहिले त्यसरी ठ्याक्कै यो पार्टीसँगै जाने भन्ने कुरा पनि छैन,’ उनले भने । केही दिन अगाडिको अन्तरवार्ताको क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको निर्देशनका कारण कांग्रेस सरकारबाट बाहिरिने अवस्था आए पनि आफू विधि र प्रक्रियाबाट मात्र अघि बढ्ने अडानमा रहेको बताएका थिए । ‘कांग्रेससित यहाँ प्रदेशमा हाम्रो कुनै असमझदारी, असहमति हैन । सकेसम्म मिलेर जाऔँ,’ कार्कीले भनेका थिए । उता, नेपाली कम्युनिस्ट पार्टीका नेता पनि कांग्रेस–एमालेमा आएको खटपटलाई अवसरको रूपमा लिँदै काठमाडौँमा केन्द्रित भएका छन् । नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सोमबार नै काठमाडौँ गएका छन् । उनले भने, ‘पछिल्लो राजनीतिको विषयमा नेताहरुसँग कुराकानी हुन्छ । त्यसअवसरमा प्रवेशको बारेमा पनि कुरा हुन्छ ।’ कांग्रेस संसदीय दलका नेतासमेत रहेको प्रदेश सभापति उद्धव थापा र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले काठमाडौँ जाने क्रमलाई बाक्लो बनाएका थिए । तर, अहिले वामपन्थी मिल्ने अवस्था देखिएपछि कांग्रेस नेताहरूले धेरै चासो नराखेको बताइन्छ । कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले दुई–तीन दिन केही नहुने बताए । ‘अहिले केही विकसित भएको छैन, म झापामै छु । दलको नेताज्यू पनि प्रदेशमै हुनुहुन्छ । बीपी जयन्ती ६ गते छ । त्यो कार्यक्रम सकिएपछि मात्रै नयाँ कुरा होला,’ तामाङले भने । उता, कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले आफू काठमाडौँमै रहेको भए पनि प्रदेश सरकारबारे कुराकानी नभएको बताए । ‘बीपी जयन्तीको दिन कार्यक्रम छ । त्यसपछि मात्रै केही होला,’ उनले भने । नयाँ राजनीतिक परिस्थितिमा कोशी प्रदेशमा वामपन्थी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको केही नेता बताउँछन् । ‘कांग्रेस र एमालेको सरकार फेल भयो भने अब बनाउने भनेको नेकपाको नेतृत्वमा हो । त्यसका लागि वामपन्थी सहकार्य आवश्यक छ,’ नेकपाका ती नेताले भने, ‘तर, माधवकुमार नेपालको नेतृत्वमा विगतमा रहेको नेकपा एकीकृत समाजवादीका साथीहरूलाई केही अप्ठ्यारो लाग्ने गरेको छ । त्यसलाई छलफलबाट टुङ्ग्याउनु पर्छ ।’ नेकपाका ती नेताले हालसम्म गण्डकी, कोशी र मधेसमा आफ्नो पार्टीले मुख्यमन्त्री नपाएको बताए । ‘गण्डकी, कोशी र मधेसमा हामीले अहिलेसम्म सरकार बनाएको छैन । अनि अहिलेसम्म नबनाएको हिसाबले गण्डकीमा र मधेसमा नेकपाको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । त्यसो हुँदा हामीले बल गर्नुपर्ने कोशीमै हो ।’ वामपन्थी मिल्दा कोशीमा सहज कोशी प्रदेशको कुल ९२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक छ । नेकपा एमाले र नेकपा गठबन्धन बन्दा कोशी प्रदेशमा सहज बहुमत हुन्छ । कोशीमा हाल कायम सांसद संख्या ९२ छ, जसमा एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरण अन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ । उता, एमाले बाहेकको समीकरणमा बहुमत पुगे पनि त्यो दिगो हुने सम्भावना कमजोर छ । प्रदेश सभामा कांग्रेसका २९ र नेकपा १७ गरी ४६ जना हुन्छ । यो गठबन्धनलाई बहुमतका लागि थप १ सिट आवश्यक पर्छ । यसका लागि १ सिट भएको जसपा वा सभामुखसहित ५ सिट भएको राप्रपाको समर्थन आवश्यक छ । राप्रपाले अहिले सत्ताको जोडघटाउमा सहभागी नहुने बताएसँगै यहाँ एमाले बाहेकको बहुमत पुर्याउनु ‘भ्यागुताको धार्नी’जस्तो भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिकास्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । आइतबार दिउँसो विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको मे १ ख २४६४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा ५० वर्षीय विनोद मेहतरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दिउँसो करिब १ः३० बजेतिर बुढीगंगा–४ स्थित नेमुवा चोकमा बाटो काट्दै गरेका मेहतरलाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको थियो । सुनसरीको दुहबी नगरपालिका–५ घर भई हाल बुढीगंगा–३ मा बस्दै आएका मेहतरको टाउको, छाती र बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले घाइते मेहतरलाई उद्धार गरी उपचारका लागि नजिकैको विराट टिचिङ अस्पताल पठाएको थियो । अस्पतालमा उपचारकै क्रममा अपराह्न ३ः४२ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र चालक झापा बिर्तामोड नगरपालिका–४ का ३१ वर्षीय प्रकाश उप्रेतीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगरको शनिमन्दिर अगाडि रहेको भाटभटेनी सुपरस्टोर ११ महिनापछि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको स्टोर पुनर्निर्माणपश्चात् शनिबारदेखि औपचारिक रूपमा सुचारु भएको हो । भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले शनिबार बिहान वैदिक सनातन पद्धतिअनुसार पूजाआजा गरी स्टोरको उद्घाटन गरिन् । उद्घाटनका क्रममा सञ्चालक गुरुङले ग्राहकहरूको सद्भाव, सहानुभूति र स्नेहका कारण नै भाटभटेनी परिवार खरानीबाट पुनः उठ्न सफल भएको बताइन् । उनले विराटनगरका स्थानीय ग्राहकहरूले स्टोर कहिले खुल्छ भनेर बारम्बार सोध्ने गरेको स्मरण गर्दै ग्राहकको मायाले आफूहरूलाई थप उत्साहित बनाएको उल्लेख गरिन् । यसैबीच, भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यसअघि नै भाटभटेनीको वेयरहाउससहित कोटेश्वर, महाराजगञ्ज, चितवन, भरतपुर, पोखरा र बौद्धका स्टोरहरू पुनः सञ्चालनमा आइसकेको जानकारी दिए । उनका अनुसार अब छिट्टै बिर्तामोड, धरान र काठमाडौँको टङ्गालस्थित स्टोरहरू पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । लामो समयको प्रतीक्षापछि सुपरस्टोर खुलेसँगै विराटनगर र आसपासका ग्राहकहरूमा उत्साह देखिएको छ ।
विराटनगरको कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रयास विवादित बनेको छ। अस्पतालको नाममा ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा छ। जसमध्ये अस्पतालको दक्षिणी खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर निर्माण गरिएको छ । अस्पतालले सूचना टाँस गरेर जग्गा छोडिदिन आग्रह गरेपछि यी संस्थाहरूको भविष्य के हुने भन्नेमा अन्योल देखिएको हो । क्षयरोग निवारण संस्थाले करिब ६ कठ्ठा ८ धुर, देवकोटा पुस्तकालयले करिब २ कठ्ठा १० धुर, गणेश मन्दिरले करिब २ कठ्ठा र नेपाल रेडक्रस सोसाइटीले करिब २ कठ्ठा जग्गामा सटरसहितका संरचना बनाएका छन्। संघीय सरकारको निर्देशन र अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न अस्पतालले असार ५ गते १५ दिने र २२ गते सात दिने सूचना जारी गरेपछि नेपाल क्षयरोग निवारण संस्थाको आवासगृहमा रहेर डिआर टिबीको औषधि सेवन गरिरहेका बिरामीहरू चिन्तित छन्। क्षयरोग निवारण संस्थाले उनीहरूको खानपिन, लुगाफाटा, औषधिदेखि लिएर सम्पूर्ण जिम्मेवारी लिएको थियो। कोशी अस्पताल परिसरमा पाँचसय शय्याको मेडिकल भवन र २ सय ५९ शय्याको विशिष्टीकृत सेवा भवन निर्माण भइरहेको छ। सेवा विस्तारका लागि जग्गा आवश्यक परेकाले संरचना हटाउन सूचना जारी गरेको अस्पताल प्रशासनले जनाएको छ। स्वास्थ्य मन्त्रालयबाट नै खाली गर्न निर्देशन गरेबमोजिम आफूहरू अगाडि बढेको अस्पताल प्रशासन बताउँछ । अस्पताल पक्षले क्षयरोग निवारण संस्थामा आवासीय सुविधासहित उपचार गराइरहेका बिरामीहरूको जिम्मेवारी लिन तयार रहेको पनि जनाएको छ। मोरङ प्रशासनले पनि कोशी अस्पतालले क्षयरोग निवारण संस्थामा भएका बिरामीहरूको जिम्मेवारी लिन बताएको छ । गणेश मन्दिर, रेडक्रस र देवकोटा पुस्तकालय नभत्काउने र त्यहीँबाट निरन्तर सेवा प्रवाह गर्ने, तर ती संस्थाले सटर बनाएर भाडामा लगाएका संरचना भत्काएर जग्गा कोशी अस्पतालको स्वामित्वमा ल्याउने प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्पष्ट पार्नुभयो । कोशी अस्पताल वि.स. १९४७ सालमा स्थापना भएको हो। कोशी अस्पतालको जग्गामा २०१६ सालमा क्षयरोग निवारण संस्था स्थापना भएको थियो । देवकोटा पुस्तकालय पनि २०१६ साल आसपास नै स्थापना भएको थियो भने रेडक्रस २०२८ सालमा स्थापना भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाइसाइक्लोमाइन–५ बोतल, ३ थान मोटरसाइकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र उनका छोरा विकास यादवलाई ४ ग्राम २३० मिलिग्राम ब्राउनसुगर, २०८ ग्राम गाँजा, प्रतिबन्धित लागू औषधी स्पास्मो–८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा विराटनगर महानगरपालिका–८ का शिवकुमार रायलाई प्रतिबन्धित लागू औषध स्कूफ–डिएक्स ५ बोतलसहित अस्थायी प्रहरी चौकी मटेरुवाले र पथरीशनिश्चरे नगरपालिका–१ का राज राई र पथरीशनिश्चरे–८ का नरबहादुर विश्वकर्मालाई ६४० मिलिग्राम ब्राउन सुगर, प्र.१–०२–००२ च ८९२० नम्बरको कार र मे.५ प ४९५९ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले कमल गाउँपालिका–५ का अनिल धिमाललाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले भारत किशनगञ्जका अल्ताप अन्सारी र बिर्तामोड–५ का सुरज चौधरीलाई ४ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको जहदा गाउँपालिका–१ स्थित सडक खण्डबाट बा.१२ च ७५५२ नम्बरको कारमा १९ किलो ३२० ग्राम गाँजा र ब्राउन सुगर ६० ग्राम बरामद भएको छ भने कार चालकको खोजी कार्य भइरहेको छ ।
झापाको शिवसताक्षी ८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थामा संचालकदेखि कर्मचारीसमेतले हिनामिना गरेको खुलेको छ । हालका अध्यक्ष दिपककुमार मेन्याङ्बोमार्फत कर्जा लगानी भएको (कागजात नभएको) १ करोड ४२ लाख ६२ हजार १८९ , व्यवस्थापक दिलु मगरमार्फत १ करोड ८३ लाख ,पूर्व अध्यक्ष राजेश निङ्गलेखुमार्फत कर्जा लगानी भएको (कागजात नभएको) ४० लाख ९६ हजार ८४० ,पूर्व संचालक समिति सदस्य विशाल शेर्मामार्फत कर्जा लगानी भएको (कागजात नभएको) २० लाख ९८ हजार ,पूर्व व्यवस्थापक बलराम राईमार्फत कर्जा लगानी भएको (कागजात नभएको) १० लाख २८ हजार ३८२,संचालक समिति सचिव सुवास लिम्बूमार्फत कर्जा लगानी भएको (कागजात नभएको) ३९ हजार ,शाखा व्यवस्थापक तिल चम्लागाईमार्फत कर्जा लगानी भएको (कागजात नभएको) १ लाख ७७ हजार ७५९ रुपैयाँ हिनामिना भएको देखिएको छ । संस्थाले कर्जा लगानीमा लेखाङ्कन गरेको रकमले संस्थाको यथार्थ चित्रण नगरेको शिवसताक्षी नगरपालिकाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले लेखाङ्कन गरेको कर्जा लगानी हिसाबमा सस्थाका पूर्व अध्यक्ष, संचालक समिति सदस्य तथा व्यवस्थापक तथा बर्तामान अध्यक्ष ,संचालक समिति सदस्य तथा व्यवस्थापकहरुले आफ्नो नाममा, आफ्नो परिवारको नाममा तथा अन्य व्यक्तिहरुको नाममा कर्जा लगानी देखाई संस्थाबाट रकम झिकेको पाइएको छ । यी कर्जाहरु कर्जा लगानी गर्दा आवश्यक कागजपत्र नभएको, कर्जा लगानी प्रकृया पुरा नगरेको, ऋण नीति पालना नगरेको, ऋण लगानी गर्ने सीमाभन्दा बढी विना धितो लगानी गरेको पाइएको छ । संस्थाले सर्वसाधारणको धेरै निक्षेप फिर्ता गरेको छैन भने धितो राखेर ऋण लिएका ऋणीहरुको धितो अलपत्र पारेको छ । खिलमान राई , प्रेम भुजेल , लक्ष्मी खत्री , रीता काफ्ले , लुना खत्री , तोर्जिङ मगर , अम्बिका राई , लोकमान दर्जी , नारायण शिवाकोटीलगायतका धेरै सदस्यहरु संस्थाबाट पीडित भएका छन् । संस्थाको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परिसकेका छन् । खिलमान राईसहितका ९ जना बचतकर्ताहरुले आफ्नो बचत फिर्ता नपाएको भन्दै जाहेरी दिएपछि असार १० गते उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिनामिनामा अध्यक्ष लिम्बूसहित ८ जना संचालक र कर्मचारीहरु मुछिएका छन् । उनीहरुको खोजी भइरहेको छ ।
खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो । अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो । मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तरगत थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताउनुभयो । अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारबोर रहेको तथा मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
केही वर्षअघिसम्म चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्र उत्पादन हुने बाली थियो। अहिले भने गाउँपालिकाको अनुदान, उन्नत बीउ र प्राविधिक सहयोग पाएपछि उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती गर्दै आम्दानी गर्न थाल्नुभएको छ। “पहिला घरखर्चका लागि मात्रै मकै लगाउँथ्यौँ,” उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले उन्नत जातको बीउ र प्राविधिक सहयोग गरेपछि व्यावसायिक खेती सुरु गरियो। अहिले उत्पादन पनि बढेको छ र आम्दानी पनि भइरहेको छ।” अशोक राईजस्तै चुलाचुली गाउँपालिकाका सयौँ किसान अहिले मकैखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। स्थानीय सरकारले सञ्चालन गरेको कृषि जोन कार्यक्रमले किसानलाई अनुदान, प्राविधिक सेवा र बजारसँग जोडिदिएपछि गाउँपालिकामा व्यावसायिक मकैखेती विस्तार हुँदै गएको हो। आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा ‘टिएक्स–३६९’ जातको हाइब्रिड मकैको बीउ वितरण गरेको थियो। यस कार्यक्रमअन्तर्गत ७०० किसानलाई कुल ६ हजार ४५६ किलोग्राम बीउ वितरण गरिएको थियो। प्रत्येक किसानले बढीमा १६ किलोग्रामसम्म बीउ प्राप्त गरेका थिए। गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुवास दाहालका अनुसार वडा नं. १ देखि ६ सम्मका किसानलाई रु ४१ लाख ९६ हजार ४०० बराबरको बीउ वितरण गरिएको हो। यसमध्ये रु २० लाख ९८ हजार २०० गाउँपालिकाले अनुदान दिएको थियो भने बाँकी रकम किसानले लागत साझेदारी गरेका थिए। उहाँका अनुसार अहिले चुलाचुलीमा १०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक मकैखेती भइरहेको छ। यहाँबाट वार्षिक करिब २४२ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ। “बीउ वितरण मात्र होइन, किसानलाई प्राविधिक परामर्श, तालिम, कृषि सामग्री तथा यान्त्रीकरणमा पनि सहयोग गरिरहेका छौँ,” दाहालले भन्नुभयो, “यसले उत्पादन लागत घटेको छ भने उत्पादकत्व पनि बढेको छ।” चुलाचुली–४ का किसान टिके बुङक्षेन राईका अनुसार अहिले मकैखेती नै परिवारको मुख्य आयस्रोत बनेको छ। “मकै बिक्रीबाट आएको आम्दानीले घरखर्च चलाउन र छोराछोरीको पढाइमा ठूलो सहयोग पुगेको छ,” उहाँ भन्नुहुन्छ, “अन्य बालीभन्दा मकैमा लगानीअनुसार राम्रो प्रतिफल पाइन्छ।” व्यावसायिक खेती विस्तारसँगै गाउँपालिकाका धेरै बाँझो जमिन पुनः खेतीयोग्य बनेका छन्। गाउँका बारीहरू अहिले लहलहाएका मकैबालीले भरिएका छन् भने कतिपय किसानले मकै भित्र्याउनसमेत सुरु गरिसकेका छन्। मकैखेती विस्तारसँगै गाउँमा रोजगारीका अवसर पनि बढेका छन्। खेतबारीमा श्रमिकको माग बढ्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका केही युवाले पनि कृषि व्यवसाय रोज्न थालेका छन्। उत्पादन बढे पनि बजारको समस्या नरहेको किसानहरू बताउँछन्। किसान उपेन्द्र पौड्यालका अनुसार व्यापारीहरू गाउँमै पुगेर मकै खरिद गर्ने भएकाले बिक्रीमा कुनै कठिनाइ छैन। “यहाँ उत्पादन भएको मकै घरबाटै बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “झापा, मोरङ र सुनसरीका बजारमा यसको राम्रो माग छ।” पशुपालन व्यवसाय विस्तारसँगै दाना उद्योगमा मकैको माग बढिरहेको छ। बजार सुनिश्चित भएपछि किसानको व्यावसायिक खेतीप्रतिको आकर्षण पनि बढ्दै गएको छ। किसान सञ्जीव मगरका अनुसार पहिले वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले मात्रै मकै लगाइन्थ्यो। “अहिले बजारको मागअनुसार खेती विस्तार गरेका छौँ,” उहाँले भन्नुभयो, “आम्दानी सुनिश्चित भएपछि खेतीप्रतिको सोच नै बदलिएको छ।” कृषि प्राविधिकहरूका अनुसार चुलाचुलीको हावापानी, उर्वर माटो र पर्याप्त वर्षा मकैखेतीका लागि अनुकूल छ। मकै समुद्री सतहदेखि करिब १३ हजार फिटसम्म खेती गर्न सकिने बाली हो। २१ देखि २७ डिग्री सेल्सियस तापक्रम र पानी नजम्ने मलिलो दुमट माटो यसको उत्पादनका लागि उपयुक्त मानिन्छ। नेपालको दोस्रो प्रमुख खाद्यान्न बालीका रूपमा रहेको मकैको प्रयोग पछिल्ला वर्षमा विविध परिकारमा बढ्दै गएको छ। परम्परागत रूपमा ढिँडो, रोटी र भुटेको मकैका साथै केक, कुकिज, चिप्सलगायतका खाद्य पदार्थमा पनि यसको प्रयोग बढेको छ। पोषणका दृष्टिले पनि मकैलाई महत्वपूर्ण खाद्यान्न मानिन्छ। यसमा पाइने फाइबर, फोलिक एसिड, म्याग्नेसियम, आइरन र फस्फोरसजस्ता पोषक तत्वले पाचन प्रणाली, मुटु तथा हड्डीको स्वास्थ्यमा सहयोग पुग्ने कृषि प्राविधिकहरूको भनाइ छ। मकैखेतीसँगै चुलाचुली गाउँपालिकाले सिमलतरुल, आलु, अदुवा, बेसार, तरकारी तथा फलफूल खेतीको प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ। किसानलाई बीउबिजन, सिँचाइ सुविधा, कृषि औजार तथा आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गरिँदै आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चुलाचुली–२ मा रु ६ लाखको आलु पकेट कार्यक्रम तथा वडा नं. १ र ५ मा रु १२ लाखको अदुवा–बेसार पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ। साथै ५० प्रतिशत लागत साझेदारीमा रु ८ लाख बराबरका कृषि सामग्री तथा यान्त्रीकरणका उपकरण पनि वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई स्थानीय विकासको मुख्य आधारका रूपमा अघि बढाइने बताउनुभयो। उहाँका अनुसार किसानको आयआर्जन वृद्धि, उत्पादन विस्तार र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यसहित कृषि अनुदान तथा प्राविधिक सहयोगलाई आगामी दिनमा अझ प्रभावकारी बनाइनेछ। अनुदान, आधुनिक प्रविधि, सुनिश्चित बजार र किसानको बढ्दो आत्मविश्वासले चुलाचुलीमा व्यावसायिक मकैखेतीलाई नयाँ उचाइमा पुर्याएको छ। परम्परागत निर्वाहमुखी खेतीबाट व्यवसायमुखी कृषितर्फको परिवर्तनले गाउँपालिकाको कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ।
बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ । यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Kathmandu Desk | Policy Watch | Public Service | Fact Check