रुपन्देही । सरकारले लुम्बिनी विकास कोषको सदस्यसचिवमा खुला प्रतिस्पर्धाका लागि आवेदन नै नदिएका सन्तोष पाण्डेलाई नियुक्त गरेपछि सरकारको निर्णयमाथि प्रश्न उठेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालका प्रमुख सल्लाहकार पाण्डेलाई कोषको सदस्यसचिव नियुक्त गरेको हो । जबकि, सदस्यसचिवसहित विभिन्न ६ पदका लागि सरकारले खुला आवेदन आह्वान गर्दा ७ सय २७ जनाले आवेदन दिएका थिए ।
उपलब्ध आधिकारिक रोस्टर सूचीअनुसार सदस्यसचिव पदका लागि मात्रै २ सय ९६ जनाले आवेदन दिएका थिए । तर, प्रतिस्पर्धामा सहभागी नभएका र रोस्टर सूचीमा समेत नाम नरहेका पाण्डेलाई नियुक्त गरिएपछि सरकारको नियुक्ति प्रक्रियामाथि आलोचना सुरु भएको छ ।
मन्त्रिपरिषद् बैठकले पाण्डेसँगै डा. अमित केसी, अर्जुन कुमी, भिक्षुणी उपेक्षा गुरुङ र दीपक कौशललाई कोषको परिषद् सदस्यमा नियुक्त गरेको छ । नियुक्त भएका पाँच जनामध्ये अर्जुन कुमी र उपेक्षा गुरुङ मात्रै खुला प्रतिस्पर्धाका लागि आवेदन दिएका उम्मेदवार हुन् । बाँकी तीन जनाको नाम मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक रोस्टरमा छैन ।
यसअघि असोज ३० गते सरकारले उपाध्यक्ष पदमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्दा पनि प्रक्रिया र मापदण्ड मिचिएको भन्दै विरोध भएको थियो । उपाध्यक्ष पदका लागि १ सय ३ जनाले आवेदन दिए पनि प्रतिस्पर्धामा सहभागी नभएकी डोल्मालाई नियुक्त गरिएको भन्दै आलोचना भएको थियो ।
लुम्बिनी बचाउ महाअभियानका सल्लाहकार दिनेश त्रिपाठीले पछिल्लो नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । अभियानका सहसंयोजक रामविकास चौधरीले लुम्बिनीको अन्तर्राष्ट्रिय गरिमा बढाउन, पुरातात्त्विक सम्पदाको संरक्षण गर्न र अलपत्र गुरुयोजनाका काम सम्पन्न गर्न सक्षम तथा निष्पक्ष विज्ञ आवश्यक रहेको बताएका छन् ।
उनले खुला प्रतिस्पर्धाबाट आएका उम्मेदवारलाई पन्छाएर रोस्टरबाहिरका व्यक्तिलाई नियुक्त गर्नुले लुम्बिनी विकास कोषलाई राजनीतिक स्वार्थ समूहको प्रभावमा पार्ने जोखिम बढाएको आरोप लगाएका छन् ।
यता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट व्यक्तिहरूले भने कोषमा आवश्यक विज्ञता र दक्षतालाई ध्यानमा राखेर आवेदन दिएका उम्मेदवारभन्दा बाहिरबाट नियुक्ति गरिएको दाबी गरेका छन् ।
खुला प्रतिस्पर्धामार्फत सार्वजनिक पदमा योग्य व्यक्ति छनोट गर्ने सरकारको घोषित नीतिविपरीत नियुक्ति भएको भन्दै पछिल्लो निर्णयले सरकारको सुशासन र पारदर्शितासम्बन्धी प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ ।