दमक । दमक ज्येष्ठ अभिभावक सेवा समाजको आयोजनामा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार असोज २५ गते दमकस्थित पशुपति मन्दिरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
समाजका अध्यक्ष अमृत बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी, विभिन्न उपसमिति, वडा समितिका प्रतिनिधि तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन समाजकी सहसचिव तुलसा सिग्देल बस्नेतले गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूबीच चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूका लागि पुरस्कारको व्यवस्थासमेत गरिएको थियो।
कार्यक्रमका क्रममा समाजको दीर्घकालीन योजनाअन्तर्गत धर्मशाला निर्माणका लागि जग्गा खरिद गर्न आवश्यक आर्थिक स्रोत जुटाउने विषयमा विशेष जोड दिइएको छ। ज्येष्ठ अभिभावक तथा अन्य सेवाग्राहीलाई लक्षित गरी धर्मशाला निर्माण गर्ने उद्देश्यले आर्थिक संकलन अभियान अघि बढाउन लागिएको समाजले जनाएको छ।
यसका लागि समाजले बिल बुक छपाइ गरिसकेको छ। नगर समितिको निर्णयअनुसार समाजका अध्यक्ष तथा संयोजकहरूलाई एक–एक थान बिल बुक वितरण गरी आर्थिक संकलन अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने तयारी गरिएको छ।
समाजले विगत तीन वर्षदेखि आफ्नो मुख्य उद्देश्यअनुसार काम गर्दै आएको उल्लेख गर्दै धर्मशाला निर्माणका लागि जग्गा खरिद गर्ने लक्ष्य पूरा गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।
कार्यक्रमले ज्येष्ठ अभिभावकबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउनुका साथै धर्मशाला निर्माणको लक्ष्य प्राप्तिका लागि सामूहिक प्रयास अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।