कास्की – गुप्तेश्वर गुफा ले एकैदिनमा पाँच लाख २५ हजार ७१५ रुपैयाँ आम्दानी गरेको छ। पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गुफामा आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य भीड देखिएको हो।
गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला का अनुसार जेठ १० गते आइतबार मात्रै चार हजार ४७२ बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक तथा ११९ विद्यार्थी गरी कुल ६ हजार ७८ जनाले टिकट काटेर गुफा अवलोकन गरेका थिए।
गुफाभित्र करिब ५०० मिटर दूरीमा रहेको प्राकृतिक शिवमूर्ति तथा करिब १०० मिटर तलबाट देखिने पातले छाँगो (डेभिज फल) को दृश्य पर्यटकको मुख्य आकर्षण बनेको अध्यक्ष बास्तोलाले बताए। उनका अनुसार गुफा धार्मिक र पर्यटकीय दृष्टिले अलौकिक स्थलका रूपमा विकसित हुँदै गएको छ।
गुफा प्रवेशका लागि आन्तरिक पर्यटकलाई ५० रुपैयाँ, बाह्य पर्यटकलाई १०० रुपैयाँ तथा विद्यार्थीलाई ३५ रुपैयाँ शुल्क तोकिएको छ। टिकट बिक्रीसँगै गुफाभित्र राखिएको यान्त्रिक कामधेनु गाई र भक्तजनबाट प्राप्त हुने दानबाट पनि राम्रो आम्दानी हुने गरेको व्यवस्थापन समितिले जनाएको छ।
अध्यक्ष बास्तोलाका अनुसार गुफाको आम्दानी संरक्षण तथा प्रवर्द्धनसँगै शैक्षिक क्षेत्रमा समेत लगानी हुँदै आएको छ। गुफाले सञ्चालन गरेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा हाल ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
त्यसैगरी गुफाको धर्मशाला हलमा सञ्चालित गुरुकुलमा कक्षा ११ सम्म अध्ययन हुने गरेको छ, जहाँ हाल ४८ विद्यार्थी अध्ययनरत छन्। गुफाले आसपासका सामुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गर्दै आएको बताइएको छ।
गुफा कार्यालय प्रमुख नारायण पौडेल ले पछिल्लो समय गर्मी बढेसँगै पोखरामा पर्यटक आगमन बढेको र पोखरा आउने धेरै पर्यटकले गुप्तेश्वर गुफा अवलोकनलाई भ्रमणको अनिवार्य गन्तव्यका रूपमा लिन थालेको बताए। उनका अनुसार गुफाको क्षमता करिब ६ हजार जनाको भए पनि भीड व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ।
