गायक रामकृष्ण ढकालको निर्माणमा बनेको फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शनिबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई आत्मीय र प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा विजय वर्षाको काखमा टाउको राखेर आरामदायी भावमा देखिन्छन् भने रातो ग्रामीण पहिरनमा सजिएकी वर्षाले उनको टाउकोमा आफ्नै टाउको अड्याउँदै मुस्कुराइरहेकी छन्। पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन्। पृष्ठभूमि र पात्रहरूको प्रस्तुतीकरणले ग्रामीण परिवेशमा आधारित पारिवारिक प्रेमकथाको संकेत गर्छ।
निर्देशक प्रकु पाण्डेयले फिल्मलाई विशुद्ध नेपाली पारिवारिक प्रेमकथा भएको बताएका छन्। उनका अनुसार, “यो फिल्म परिवारका सबै उमेर समूहले एकसाथ बसेर हेर्न मिल्ने खालको छ। यसले हाम्रो समाजको बलियो पक्षलाई उजागर गर्ने प्रयास गरेको छ।” फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको रहेको छ।
फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरूङ र स्वीकृति बस्नेत रहेका छन्।
कलाकारमा विजय र वर्षासँगै मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरूङ र सागर भट्टराईलगायतको अभिनय रहेको छ।
फिल्मका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजले गरेका छन्। रंग संयोजन कृष्ण भण्डारीको तथा ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। डिजिटल वितरण ओएसआर डिजिटलले गर्नेछ भने थिएटर वितरण आरआर फिल्म्समार्फत हुनेछ।
