नेपाल पर्यटन बोर्ड ले चीनको ग्वाङ्झाउ मा आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको जनाएको छ । उक्त मेला मे २१ देखि २३ सम्म सञ्चालन भएको थियो ।
नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिक महत्व, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणलाई आधार मानेर नेपाललाई उक्त सम्मान प्रदान गरिएको बोर्डले उल्लेख गरेको छ ।
तीनदिने अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ अर्थात् ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित सहभागिता जनाएको थियो । मेलामा सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तरराष्ट्रिय आगन्तुक र ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराइएको थियो ।
ग्वाङ्झाउ हङकङ तथा ग्रेटर बे एरियानजिकको प्रमुख व्यापारिक र पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बजारका रूपमा हेरिएको छ । विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक तथा लक्जरी पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको बोर्डले जनाएको छ ।
मेलाको उद्घाटन दिन मे २१ मा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा ‘गन्तव्य नेपाल’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो ।
उद्घाटन सत्रमा विमल कँडेल ले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ प्रस्तुत गरेका थिए । उनले नेपालको पर्यटन बजार विस्तार रणनीतिसम्बन्धी प्यानल छलफलमा समेत सहभागिता जनाएका थिए ।
मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी विभिन्न प्याकेजबारे चिनियाँ तथा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए ।
हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्स ले काठमाडौँ–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् । यसबाट नेपाल–चीन पर्यटन पहुँच विस्तार हुनुका साथै चिनियाँ पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ ।
