काठमाडौँमा आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०२६’ सुरु भएको छ । दक्षिण एसियाली मुलुकबीच उद्योग, व्यापार र सेवासम्बन्धी अवसरलाई एकै थलोमा जोड्ने उद्देश्यसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला आयोजना गरिएको हो ।
मेलामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलाको विभिन्न देशका राजदूत तथा उद्योगी व्यवसायीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
इन्ट्रोडक्शन ट्रेड शोज नेपालको व्यवस्थापनमा सञ्चालन भएको मेला बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्यमा आयोजना गरिएको हो भने भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले पनि मेलालाई समर्थन गरेको छ ।
मेलामा विभिन्न देशका ‘पेभिलियन’ राखिएका छन् । आयोजकका अनुसार सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी–व्यवसायी तथा एक लाखभन्दा बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोशाक, सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण तथा विद्युतीय सवारी साधनलगायतका सामग्री प्रदर्शनमा राखिएका छन् ।
मेला संयोजक सुमन महर्जनका अनुसार प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, दक्षिण एसियाली राष्ट्रहरूबीच व्यापारिक सम्बन्ध थप मजबुत बनाउन मेलाले सहयोग पुग्ने विश्वास गरिएको छ ।
