काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडो मा शनिबारदेखि सुरु भएको छ।सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले तथा बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा ले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. लम्सालले अनेसास नेपाली भाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसदका रूपमा स्थापित भएको बताए। उनले नेपालको सीमाभन्दा बाहिर सिर्जना हुने नेपाली साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य पूर्ण हुन नसक्ने धारणा व्यक्त गरे।
सम्मेलनमा मदन पुरस्कार विजेता डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल तथा आचार्य राजन लाई सम्मान गरिएको थियो।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सुरु भएको सम्मेलनमा संयोजक तथा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारी ले गरेका थिए।
तीन दिनसम्म चल्ने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’ लगायत विषयमा विभिन्न सत्र तथा छलफल आयोजना गरिएका छन्। सम्मेलनमा नेपाली डायस्पोरामा फैलिँदै गएको नेपाली साहित्यबारे लेखक, पत्रकार तथा साहित्यकारबीच विमर्श भइरहेको छ।
सम्मेलनमा एनआरएनए एनसीसी अमेरिका का अध्यक्ष सतेन्द्र साह, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, लेखक सुधीर शर्मा, सम्पादक बसन्त बस्नेत, बबिता बस्नेत, पूर्वअध्यक्ष बिपुल पोखरेल लगायत नेपाल, अमेरिका र युरोपबाट आएका करिब २०० साहित्यकार, पत्रकार तथा प्रतिनिधिको सहभागिता रहेको छ।
सम्मेलन सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
