इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि कार्यक्रम शनिबारदेखि सुरु भएको छ। राजधानी तेहरानका सडक र धार्मिक स्थलहरूमा लाखौँ श्रद्धाञ्जली दिन पुगेका नागरिकहरूको उपस्थिति देखिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
छ दिनसम्म सञ्चालन हुने अन्त्येष्टि कार्यक्रमको पहिलो दिन बिहानैदेखि तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मुसल्ला मस्जिदमा सर्वसाधारणको ठूलो भीड लागेको थियो। फेब्रुअरी २८ को आक्रमणमा मारिएका खामेनी र उनका परिवारका सदस्यहरूको ताबुत इरानी राष्ट्रिय झण्डाले ढाकेर श्रद्धाञ्जलीका लागि राखिएको थियो।
ताबुतको अन्तिम दर्शनका क्रममा धेरै श्रद्धालु भावुक बनेका थिए। कार्यक्रममा सहभागीहरूले ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै बदलाको मागसमेत गरेका थिए।
इरानी अधिकारीहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा करिब १ करोड ५० लाखदेखि २ करोड मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ। अन्तिम यात्रा जुलाई ६ मा तेहरानबाट सुरु हुने र क्रमशः कोम, इराकका नजफ र कर्बला हुँदै जुलाई ९ मा मशहदस्थित इमाम रजा दरगाह परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिने कार्यक्रम तय गरिएको छ।
मशहद शिया मुस्लिमहरूको प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक हो। शिया सम्प्रदायका आठौँ इमाम इमाम रजाको समाधि यहीँ रहेकाले यो मक्का, मदिना र कर्बलापछि सबैभन्दा पवित्र स्थल मानिन्छ।
यता, इरानले अमेरिकासँग जारी अप्रत्यक्ष वार्ता तत्कालका लागि स्थगित गरेको छ। साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई फोर्डो, नतान्ज र इस्फहानस्थित प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णय पनि गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवीय आधारमा इरानलाई अन्त्येष्टि सम्पन्न गर्न एक साताको समय दिएको दाबी गरेका छन्। उक्त अवधि सकिएपछि इरानले अमेरिकी सर्तहरू स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
खामेनीको निधनपछि इरानले आफ्नो सुरक्षा र सैन्य रणनीतिमा समेत परिवर्तनको संकेत दिएको छ। नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको नेतृत्वमा इरानले थप आक्रामक सुरक्षा नीति अवलम्बन गर्न सक्ने विश्लेषण गरिएको छ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले अब होर्मुज जलडमरूमध्यलाई रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गर्न सक्ने संकेत दिएको छ। इरानले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ, "यदि इरानमा शान्ति हुँदैन भने विश्वको तेल आपूर्ति पनि सामान्य रहन दिइने छैन।"
