डोनाल्ड ट्रम्प ले इरान सँग महत्वपूर्ण सम्झौता हुन लागेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले पनि वार्तामा उल्लेखनीय प्रगति भएको खुलासा गरेका छन् ।
यद्यपि इरानले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन, दुई पक्ष सम्झौताको प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षरको नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्झौताको मस्यौदाअनुसार हाल कायम युद्धविरामलाई थप ६० दिन लम्ब्याउने तयारी गरिएको छ । सो अवधिमा इरानले हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला गर्ने, जहाजसँग कुनै शुल्क नलिने तथा जलमार्गमा राखिएका धराप हटाउन सुरु गर्ने बताइएको छ ।
यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथि लगाइएको नाकाबन्दी हटाउने तथा इरानी तेल स्वतन्त्र रूपमा निर्यात गर्न पाउने गरी आर्थिक प्रतिबन्ध खुकुलो बनाउने तयारी गरेको बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानले जलमार्ग सुरक्षित बनाउने प्रक्रिया जति छिटो अघि बढाउँछ, त्यति नै छिटो प्रतिबन्ध हटाइनेछ ।
इरानले विदेशमा रोक्का गरिएको आफ्नो रकम तत्काल फुकुवा गर्नुपर्ने माग राखेको छ । तर अमेरिकी पक्षले अन्तिम सम्झौता भएपछि मात्र त्यसबारे निर्णय हुने अडान लिएको जनाइएको छ । साथै, क्षेत्रीय तनाव कम भएमा सो क्षेत्रमा परिचालित अमेरिकी सैनिकहरू ६० दिनपछि फिर्ता हुनसक्ने उल्लेख गरिएको छ ।
सम्झौताको अर्को संवेदनशील विषय इरानको आणविक कार्यक्रम हो । एमओयूको मस्यौदामा इरानले भविष्यमा कहिल्यै पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउने उल्लेख छ । तर युरेनियम प्रशोधन कार्यक्रम बन्द गर्ने प्रक्रिया तथा प्रशोधित सामग्री व्यवस्थापनबारे छलफल अझै जारी रहेको बताइएको छ ।
यसैबीच, सम्झौतामा इजरायल ले लेबनान माथि जारी राखेको सैन्य आक्रमण रोक्ने विषय पनि समावेश हुनसक्ने जनाइएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियन ले सर्वोच्च नेतृत्वको स्वीकृतिबिना कुनै अन्तिम सहमति नहुने स्पष्ट पारेका छन् ।
पाकिस्तान तथा पश्चिम एसियाली मुलुकहरूको मध्यस्थतामा अमेरिका–इरान वार्ता जारी रहे पनि बेन्जामिन नेतन्याहु नेतृत्वको इजरायली पक्ष भने सम्भावित सम्झौताप्रति असन्तुष्ट देखिएको छ । नेतन्याहुले शनिबार ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए ।
ह्वाइट हाउसका अधिकारीहरूले छिट्टै सहमति हुनसक्ने आशा व्यक्त गरेका छन् । तर इरान वार्तामा गम्भीर नभए युद्धविराम अवधि पूरा नहुँदै सहमति भंग हुनसक्ने चेतावनी पनि अमेरिकी पक्षले दिएको छ ।
