काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन्। महासंघको ६०औं वार्षिक साधारणसभाको उद्घाटनमा सोमबार बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले वर्तमान राजनीतिक अवस्थालाई अभूतपूर्व अवसरका रूपमा व्याख्या गर्दै नीतिगत स्थायित्वको खोजी भइरहेको समयमा संसदमा एकै दलको बलियो उपस्थिति सकारात्मक संकेत भएको बताए। ‘सरकारको स्थायित्वलाई सबै क्षेत्रमा स्थायित्व ल्याउने अवसरका रूपमा उपयोग गर्नुपर्छ,’ उनले भने।
ढकालले विगतमा यस्ता अवसरलाई सदुपयोग गर्न नसक्दा मुलुकले अपेक्षित प्रगति गर्न नसकेको उल्लेख गरे। निजी क्षेत्रलाई सम्मानपूर्वक व्यवसाय गर्ने वातावरण दिइएमा आर्थिक विकास तीव्र बनाउन सकिने उनको भनाइ थियो।
उनका अनुसार नेपालको जनसांख्यिकीय संरचना पनि विकासका लागि अनुकूल छ। नेपालीहरूको मिडियन उमेर करिब २५ वर्ष रहेको, साथै भारत र चीन जस्ता ठूला बजार नजिकै हुनु नेपालका लागि ठूलो अवसर भएको उनले बताए।
विकसित देशहरूमा भन्साररहित बजार पहुँच प्राप्त भइरहेकाले नेपाली उत्पादन विश्व बजारमै प्रतिस्पर्धी बन्न सक्ने सम्भावना रहेको उनले औंल्याए। युवाको आकांक्षा पूरा गर्न रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेकोमा उनले जोड दिए।
