झापा । विकास, समृद्धि र परिवर्तनलाई आफ्नो राजनीतिक तथा सामाजिक यात्राको मूलमन्त्र बनाउँदै आएका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई स्थानीय तहमा जनताको सेवासँगै विकास निर्माणका काममा सक्रिय देखिन्छन्।
राजनीति बुझेदेखि नै नेपाली कांग्रेसको भ्रातृ संगठन तथा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका राई त्यसपछि निरन्तर सक्रिय राजनीतिमा रहँदै स्थानीय नेतृत्वमा स्थापित भएका हुन्। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका राईले स्थानीय आवश्यकता र जनताको चाहनालाई आफ्नो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँछन्।
राजनीतिक विचारका विषयमा समेत स्पष्ट धारणा राख्ने अध्यक्ष राई नेपालको राजनीतिक परिवर्तनमा तत्कालीन माओवादी जनयुद्धको भूमिकालाई महत्वपूर्ण मान्छन्।
उनका अनुसार तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध अघि नबढाएको भए अहिले पनि समाजमा धनी र गरिबबीचको खाडल तथा छुवाछुत र विभेदको अवस्था अझै गहिरो हुन सक्थ्यो।
राईको बुझाइमा प्रचण्डले विगतमा अघि सारेका राजनीतिक तथा सामाजिक परिवर्तनका विचारलाई निरन्तरता दिन सकेको भए उनी नेपाली राजनीतिमा अझै माथिल्लो उचाइमा पुग्न सक्थे। तर आफ्ना पुराना सिद्धान्त र विचारमा अडिग रहन नसक्दा अहिलेको अवस्था सिर्जना भएको उनको टिप्पणी छ।
वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनी सन्तुष्ट छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरे पनि आम नागरिकको अपेक्षा र भावनाअनुसार काम गर्न नसकेको उनको धारणा छ।
जन्मदिनकै अवसरमा मङ्गलबारे बजार स्थापना
कमल गाउपालिका वार्ड न ५ स्थायि बसोबास गर्नुहुने राइ को सामाजिक तथा विकास यात्रामा स्थानीय मङलबारे बजार स्थापनाको प्रसङ्ग पनि महत्वपूर्ण मानिन्छ।
२०३० साल फाल्गुन २२ गते जन्मिएका राईले आफ्नो जन्मदिनकै अवसर पारेर आफ्नै अग्रसरतामा २०७३ साल फागुन २२ गते कमल गाउँपालिका–५ मङ्गलबारेमा बजार स्थापना गर्ने पहल गरेका थिए।
उनको सक्रियतामा स्थापना भएको उक्त बजार अहिले स्थानीय उत्पादनको व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। स्थानीय किसान तथा उत्पादकहरूले आफ्ना उत्पादन बजारसम्म ल्याएर बिक्री गर्ने वातावरण बनेपछि स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको बताइन्छ।
युवालाई संगठित गर्न ‘सगुन युवा क्लब’
समाजमा रहेका युवाहरूलाई गतिशील, सिर्जनशील र सामाजिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले राईकै पहलमा सगुन युवा क्लब स्थापना भएको हो।
क्लबका संस्थापक अध्यक्षसमेत रहेका राईले युवालाई सामाजिक परिवर्तनको महत्वपूर्ण शक्ति मान्दै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा उनीहरूको सहभागिता बढाउने प्रयास गरेका थिए। स्थापना कालदेखि नै सामाजिक गतिविधिमा सक्रिय रहेको सगुन युवा क्लब अहिले पनि निरन्तर सञ्चालनमा रहेको छ।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन
स्थानीय तहको नेतृत्व सम्हालेपछि कमल गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरिएको छ। सामान्य हेल्थपोस्टबाट सुरु भएको कमलनगर अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने काममा राईको सक्रिय भूमिका रहेको बताइन्छ।
अस्पतालमा विभिन्न स्वास्थ्य सेवाहरू विस्तार हुँदै गएपछि स्थानीय नागरिकलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम भएको छ।
त्यसैगरी गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) सहितका सेवाहरू सञ्चालनमा ल्याउने काम भएको छ। स्वास्थ्य सेवाको पहुँचलाई गाउँ–गाउँसम्म पुर्याउने उद्देश्यले वडा तहमा रहेका स्वास्थ्य संस्थाहरूलाई समेत थप व्यवस्थित बनाउने प्रयास गरिएको छ।
गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे
स्वास्थ्य क्षेत्रमा राई नेतृत्वको गाउँपालिकाले अघि बढाएको अर्को महत्वपूर्ण काम गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवाको व्यवस्था हो।
वडा तहका स्वास्थ्य संस्थामार्फत गर्भवती महिलालाई आवश्यक परीक्षण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले गरिएको यस्तो व्यवस्थाले ग्रामीण क्षेत्रका महिलालाई प्रत्यक्ष लाभ पुगेको गाउँपालिकाको भनाइ छ।
आर्थिक अवस्था कमजोर भएका परिवारका लागि गर्भावस्थामा आवश्यक स्वास्थ्य परीक्षण सहज र निःशुल्क हुनु महत्वपूर्ण उपलब्धि भएको स्थानीयहरूको धारणा छ।
जनताको सेवामा दैनिक सक्रिय
स्थानीय तहको नेतृत्वमा रहेर विकास निर्माणसँगै जनताको दैनिक समस्या सुन्ने र समाधानका लागि पहल गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको अध्यक्ष राई बताउँछन्।
स्वास्थ्य, शिक्षा, स्थानीय बजार, युवा परिचालन तथा सामाजिक विकासका क्षेत्रमा भएका कामलाई संस्थागत गर्दै कमल गाउँपालिकालाई थप व्यवस्थित, समृद्ध र आत्मनिर्भर बनाउने उनको लक्ष्य रहेको छ।
राईको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएर स्थानीय सरकारको नेतृत्वसम्म आइपुगेको हो। विचारमा स्पष्टता, सामाजिक परिवर्तनप्रतिको प्रतिबद्धता र स्थानीय विकासप्रतिको सक्रियतालाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका राई अहिले कमल गाउँपालिकाको नेतृत्वमार्फत जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छन्।
विकास, समृद्धि र परिवर्तनलाई मूलमन्त्र बनाएका राईको नेतृत्वमा कमल गाउँपालिकाले स्वास्थ्य, शिक्षा, स्थानीय आर्थिक गतिविधि र युवा परिचालनका क्षेत्रमा अघि बढाएका पहलहरूले स्थानीय तहको विकास यात्रामा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको देखिन्छ।