काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले नेपाल–चीनबीचको सुरक्षा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको अन्तरक्रियामा उनले द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउन चीन तयार रहेको बताएका हुन्।
छलफलका क्रममा नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सुरक्षा चुनौती तथा समकालीन विश्व परिस्थितिका विषयमा विचार आदानप्रदान भएको थियो। सहभागीहरूले दुई देशबीचको सम्बन्धको वर्तमान अवस्था, सहकार्य र भविष्यका सम्भावनाबारे आफ्ना धारणा राखेका थिए।
राजदूत चाङले नेपाल–चीन सम्बन्ध निरन्तर प्रगाढ बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा कानुन कार्यान्वयन र सुरक्षा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।
