सशस्त्र प्रहरी बलले मोरङका विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख रुपैयाँ बराबरका सामान र सवारी साधन बरामद गर्दै आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
सामान बरामद गर्ने क्रममा सशस्त्रले एक जनालाई पक्राउसमेत गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी सिटी सफारीमा लोड गरेर ल्याउँदै गरेको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।
सोही टोलीले बिल–बीजकबिनै कुरियरमार्फत पठाउन तयारी अवस्थामा रहेको करिब ५ लाख ८० हजार २८० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामग्री पनि नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको ड्युटी टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका ५ लाख ५२ हजार ४६० रुपैयाँ बराबरका औषधि, स्कुटर, सिटी सफारी तथा कागती बरामद गरेको छ ।
सिटी सफारी तथा स्कुटरसहित बरामद गरिएका १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरका सामान तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।
उनले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात–निर्यात नियन्त्रणका लागि निगरानी बढाएर चेकजाँचलाई कडा बनाइएको बताए । ‘सीमा क्षेत्रमा कडाइ गरिएको छ । चोरी तस्करी नियन्त्रणका लागि सबै निकायसँग समन्वय भइरहेको छ,’ एसपी भण्डारीले भने ।
