गौरादह, झापा ।
क्लब हिमालयन टाइगर, गौरादहको चौथो साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले श्री निर्मला बजगाईं रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धनार्जङ्ग चौहान, महिला उपाध्यक्षमा गाेमा थापा केसी, सचिवमा निर्मला शर्मा, कोषाध्यक्षमा हरि बहादुर खड्का, सह–सचिवमा अनुषा बजगाईं प्रसाई तथा सह–कोषाध्यक्षमा शोभा गीरी निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा निर्मला बास्ताेला सुब्बा, ओमकुमार धमला (विशाल), किशोर कार्की र दिनेश पराजुली सर्वसम्मत चयन हुनुभएको छ।
कार्यक्रमको सञ्चालन निवर्तमान सचिव निर्मला बजगाईं रिमालले गर्नुभएको थियो भने अध्यक्षता निवर्तमान अध्यक्ष सरिता कटुवाल कार्कीले गर्नुभएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि गौरादह नगरपालिकाकी उपप्रमुख जल वर्षा राजवंशी रहनुभएको थियो। त्यसैगरी क्लब हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
यसैगरी गौरादह–१ का वडा अध्यक्ष नगेन्द्र भण्डारी, गौरादह–२ का वडा अध्यक्ष गोपाल कोइराला, शैक्षिक व्यक्तित्व भोजराज दाहाल, लायन्स क्लबकी पूर्व अध्यक्ष विनिता कटुवाल, निर्वाचन समिति संयोजक बाबुराम भण्डारी, निर्वाचन समिति सदस्य भोला राउत र अञ्जु दाहाल लगायतको अतिथिका रुपमा उपस्थिति रहेको थियो। कार्यक्रममा क्लबका सल्लाहकारहरू टेकबहादुर कार्की, इन्द्र गौतम, तारा श्रेष्ठ, भानु आचार्य र क्रान्तिदीप काफ्ले सहित क्लबका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, तथा वडा अध्यक्ष द्वयले क्लब हिमालयन टाइगरले गौरादह तथा आसपासका क्षेत्रमा समाज रुपान्तरण, सकारात्मक सामाजिक परिवर्तन, मानव सेवा, विपद् तथा आवश्यकताका बेला समुदायको साथमा उभिने कार्य, युवालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अभियान तथा सामाजिक सेवामूलक गतिविधिमार्फत उल्लेखनीय योगदान पुर्याएको बताएका थिए। आगामी दिनमा पनि संस्थालाई आवश्यक साथ, सहयोग र सहकार्यलाई स्थानिय सरकारका तर्फबाट निरन्तरता दिने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि तथा केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नयाँ नेतृत्वले संस्थाको गरिमा, उद्देश्य र सामाजिक उत्तरदायित्वलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निवर्तमान अध्यक्ष सरिता कटुवाल कार्कीको नेतृत्वमा संस्थाले सामाजिक सेवामा स्थापित गरेको पहिचान, समर्पण र योगदानको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै संस्थालाई आजको उचाइसम्म पुर्याउन समर्पित सदस्य, सल्लाहकार समिति तथा सम्पूर्ण शुभेच्छुकहरूको अथाह साथ, विश्वास र सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष निर्मला बजगाईं रिमालले सबैको विश्वासप्रति आभार व्यक्त गर्दै क्लबलाई अझ सक्रिय, सेवामुखी, पारदर्शी र समाजप्रति उत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक सेवा, मानव कल्याण र युवाको नेतृत्व विकासलाई प्राथमिकतामा राखेर नयाँ कार्यसमितिले प्रभावकारी ढंगले काम गर्ने विश्वास दिलाउनुभयो।
