काठमाडौं, असार ३१ । Yukti Times
नेपालले सन् २०२८ को आईसीसी टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट प्रक्रियाअनुसार नेपालले यसपटक एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः आगामी विश्वकपमा स्थान सुरक्षित गर्न नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा सहभागी हुनेछन्। नेपाल पनि यही सूचीमा परेकाले उसले क्षेत्रीय छनोटको झन्झट बेहोर्नु नपर्ने भएको हो।
नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै बाहिरिए पनि ग्लोबल छनोटमा सिधै प्रतिस्पर्धा गर्ने अवसर भने सुरक्षित राख्न सफल भएको थियो।
ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन्। अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन्।
ग्लोबल छनोटपछि प्रत्येक क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक टोली र समग्रमा उत्कृष्ट थप तीन टोली गरी कुल सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्। आईसीसीले छनोटका लागि न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ।
आईसीसीले यसअघि हटाइएको ग्लोबल छनोट प्रणालीलाई पुनः लागू गरेको छ। साथै टी–२० विश्वकपको फर्म्याटमा पनि परिवर्तन गरिएको छ। उक्त परिवर्तन आईसीसी सम्मेलनबाट पारित भइसकेको भए पनि अन्तिम स्वीकृति भने नोभेम्बरमा हुने छलफलपछि प्रदान गरिनेछ।
