दोलखा, वैशाख २६ गते । दोलखा चेस होम नेपालको आयोजनामा वैशाख २८ देखि जेठ २ गतेसम्म छैटौँ खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा क्लासिकल र र्यापिड गरी दुई विधा समावेश गरिएको छ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक गोविन्दमान श्रेष्ठले नेपालसहित अमेरिका, रसिया, चीन, मङ्गोलिया, फिलिपिन्स, भारत, बङ्गलादेश र श्रीलङ्कालगायत १० राष्ट्रका खेलाडी सहभागी हुने जानकारी दिनुभयो ।
चरिकोटस्थित सिम्पानी सभाहलमा सञ्चालन हुने प्रतियोगितामा तीन सय ५० जना खेलाडी सहभागी हुनेछन् । नेपालका च्याम्पियन एफएम रुपेश जैसवाल २१०३ रेटिङसहित प्रतिस्पर्धामा सहभागी रहने बताइएको छ ।
विश्व बुद्धिचाल महासङ्घ (फिडे), एसियन चेस फेडेरेसन र नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा आयोजना हुने प्रतियोगितामा २५ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेता खेलाडीलाई ६ लाख ६७ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय प्रमुख निर्णायक तथा नेपाली अन्तर्राष्ट्रिय आर्बिटर निरञ्जन प्रजापतिले सञ्चालन गर्नुहुनेछ । मोफसलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै खेल विकाससँगै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य आयोजकको रहेको छ ।
I prefer this response
