काठमाडौं । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीलाई पहिलो टि–२० अन्तरराष्ट्रिय अभ्यास खेलमा दुई विकेटले पराजित गरेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन बनाइन् । उनले ३९ बलमा दुई चौकाको सहयोगमा महत्वपूर्ण इनिङ खेलेकी हुन् । रुबी पोद्दारले १५ रन जोड्दा कविता जोशीले ६ रनको योगदान दिइन् ।
बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट हात पारिन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान ७–७ रन बनाए ।
नेपालका लागि पूजा महतोले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिए भने कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट हात पारे ।
एसियन छनोट तथा एसीसी प्रिमियर कपको तयारीका लागि मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपाल र मलेसियाबीचको दोस्रो अभ्यास खेल यही जेठ ८ गते हुनेछ ।
