नेपालमा पछिल्ला तीन महिनामा विपद्का घटनाले भयावह रूप लिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार ३२ गतेसम्म देशभर तीन हजार २९६ वटा विपद्का घटना भएका छन्। ती घटनामा १६० जनाले ज्यान गुमाएका छन्, दुई जना अझै बेपत्ता छन् भने ९४५ जना घाइते भएका छन्।
यस अवधिमा चार हजार ३७५ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
सबैभन्दा धेरै ८९७ वटा आगलागीका घटना भएका छन्, जसमा १७ जनाको मृत्यु भएको छ। त्यसपछि ५१४ वटा सर्पदंशका घटनामा ३८ जनाले ज्यान गुमाएका छन्।
४७७ वटा हुरीका घटनामा १३ जनाको मृत्यु, ४३३ वटा पहिरोमा १२ जनाको ज्यान गएको छ। चट्याङका २२३ घटनामा २४ जनाले ज्यान गुमाएका छन् भने वन्यजन्तुको आक्रमणबाट पनि १७ जनाको मृत्यु भएको छ।
यस्तै, बाढी, भारी वर्षा, वन डढेलो, हिउँपहिरो र लेक लाग्ने घटनाले पनि ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। लेक लागेर मात्रै २१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मनसुन अझै जारी रहेकाले सम्बन्धित निकायले सबै नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको छ।
