नेपालमा यस वर्षको मनसुन प्रणाली आजदेखि देशैभर सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन करिब १२ दिनपछि सम्पूर्ण देशभर फैलिएको हो।
महाशाखाका अनुसार यस वर्ष मनसुन असार ५ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्दै कोशी प्रदेशका केही क्षेत्रमा सीमित भएको थियो। त्यसपछि असार ८ गतेदेखि कोशी प्रदेशका बाँकी भाग, मधेश, बागमती, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन विस्तार भएको थियो।
सामान्यतया नेपालमा मनसुन जुन १३ तारिख (जेठ ३०/३१ गते आसपास) पूर्वी नेपालबाट प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी नेपाल प्रवेश गरेको र देशभर फैलिन पनि करिब १२ दिन लागेको महाशाखाले जनाएको छ।
देशभर मनसुन सक्रिय भएसँगै आगामी दिनमा धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानको जानकारी लिँदै सुरक्षित रहन अनुरोध गरेको छ।
