काठमाडौं । साओमीले नेपालमा रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी गरी चार मोडल सार्वजनिक गरेको हो ।
नयाँ सिरिजको मुख्य आकर्षण उच्च क्षमताको ब्याट्री र फास्ट चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । रेडमी नोट १७ र नोट १७ ५जीमा ७ हजार ७ सय एमएएच ब्याट्रीसहित ४५ वाट टर्बो चार्जिङ दिइएको छ ।
त्यस्तै, रेडमी नोट १७ प्रो ५जीमा ८ हजार ३ सय ४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ । सबैभन्दा उच्च क्षमताको ब्याट्री रेडमी नोट १७ प्रो म्याक्स ५जीमा छ । यसमा १० हजार एमएएच ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ ।
कम्पनीका अनुसार प्रो म्याक्स ५जीलाई पूर्ण चार्ज गरेपछि ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ भने २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुन्छ ।
सिरिजका फोनमा रेडमी टाइटन ब्याट्री सिस्टम प्रयोग गरिएको छ । यसले ब्याट्रीको आयु र ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
डिस्प्ले र क्यामेरा
रेडमी नोट १७ प्रो सिरिजमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ३ हजार ५ सय निट्ससम्मको ब्राइटनेस दिइएको छ ।
रेडमी नोट १७ र नोट १७ ५जीमा भने ६.९९ इन्चको एफएचडी प्लस एमोलेड डिस्प्ले रहेको छ ।
क्यामेरातर्फ रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगापिक्सेल मुख्य तथा १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । नोट १७ प्रो ५जीमा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ ।
प्रो म्याक्स ५जीमा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।
मूल्य कति ?
नेपालमा रेडमी नोट १७ सिरिजको मूल्य भेरियन्टअनुसार ४२ हजार ९ सय ९९ रुपैयाँदेखि ७९ हजार ९ सय ९९ रुपैयाँसम्म तोकिएको छ ।
रेडमी नोट १७: ४२,९९९ रुपैयाँदेखि ४७,९९९ रुपैयाँसम्म
रेडमी नोट १७ ५जी: ४७,९९९ रुपैयाँदेखि ५२,९९९ रुपैयाँसम्म
रेडमी नोट १७ प्रो ५जी: ५७,९९९ रुपैयाँदेखि ६४,९९९ रुपैयाँसम्म
रेडमी नोट १७ प्रो म्याक्स ५जी: ६९,९९९ रुपैयाँदेखि ७९,९९९ रुपैयाँसम्म
प्रो सिरिज खरिद गर्ने ग्राहकले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले निःशुल्क पाउने कम्पनीले जनाएको छ । यो अफर सेप्टेम्बरको अन्त्यसम्म लागू हुनेछ ।
त्यस्तै, आधिकारिक बिक्रेतामार्फत नागरिकता प्रस्तुत गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।