काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाताको जिज्ञासा समाधानका लागि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। निर्वाचनसम्बन्धी कुनै जानकारी लिन चाहेमा टोल फ्री नम्बर ११०२ मा सम्पर्क गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका अनुसार ‘कल सेन्टर’ मा ६ वटा डेस्क स्थापना गरिएको छ, जहाँबाट एकै समयमा मतदाताका प्रश्न तथा जिज्ञासाको समाधान गरिनेछ। कल सेन्टर सञ्चालनको पहिलो दिन गण्डकी प्रदेशबाट फोन गरेका एक व्यक्तिले लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुँदैन भन्ने जिज्ञासा राखेका थिए। त्यसमा कल सेन्टरका अधिकारीहरूले यसअघि नै तय भइसकेका परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने स्पष्ट पारेका थिए।
निर्वाचन आयोगका अनुसार कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सूचना, प्रक्रिया वा अन्य जिज्ञासा राख्न आजदेखि उम्मेदवार विजयी भई प्रमाणपत्र प्रदान नहुँदासम्म कल सेन्टर सेवा सञ्चालनमा रहने आयोगले जनाएको छ।
