दुई दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा २५ मिनेट लामो भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा आइतबार साँझ भएको भेटवार्ता सम्पन्न भएको हो। प्रधानमन्त्री शाहलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर होटल पुगेका थिए। उनीहरूबीच भएको छलफलका विषयवस्तु भने विस्तृत रूपमा सार्वजनिक गरिएको छैन।
विदेशमन्त्री जयशंकरसँगको भेटवार्तापछि प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। आइतबारका लागि प्रधानमन्त्रीको अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधार, आर्थिक साझेदारी विस्तार र आपसी विश्वास अभिवृद्धिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्। त्यसैगरी निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।
यस भ्रमणको मुख्य आकर्षण भने सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्चस्तरीय वार्ता हो। प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय छलफल गर्ने कार्यक्रम छ।
उक्त वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य बढाउने विषय पनि प्राथमिकतामा रहनेछन्।
प्रधानमन्त्री शाहको यो भ्रमणबाट नेपालले ठोस आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ। तर सीमा विवादजस्ता संवेदनशील विषय भ्रमणको औपचारिक एजेन्डामा नसमेटिएको विषयले पनि चासो बढाएको छ।
अब प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हुने भेटवार्ता तथा त्यसबाट सार्वजनिक हुने सहमति र सम्झौताले भ्रमणको वास्तविक उपलब्धि निर्धारण गर्नेछ।
नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय थप्ने अपेक्षासहित अघि बढेको प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तले चासोपूर्वक हेरिरहेको छ।