नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ दिशामा अघि बढाउने अपेक्षा गरिएको छ। दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा महत्वपूर्ण भेटवार्ता भइरहेको छ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका लागि भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए। उनीहरूबीच दुई देशको आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा द्विपक्षीय चासोका विषयमा छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आजै साँझ सात बजे नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। आजका लागि प्रधानमन्त्रीको अन्य औपचारिक कार्यक्रम भने तय गरिएको छैन।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। किनकि यस भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई सम्पर्क, पूर्वाधार विकास तथा दुई देशबीचको आर्थिक साझेदारी विस्तारका विषय प्रमुख प्राथमिकतामा रहेका छन्।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्। त्यसैगरी निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्।
प्रधानमन्त्री शाहको भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रम भने भोलि मंसिर ७ गते हुँदैछ। भोलि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
त्यसअघि बिहान १० बजे प्रधानमन्त्री शाहले राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री मोदीसँग हुने भेटवार्तामा दुवै देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ। दुई नेताबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत गरिएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
यस क्रममा नेपाल र भारतबीच ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी पनि गरिएको छ।
त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्रमा आपसी सहकार्य बढाउने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री शाहले भोलि नै अपराह्न सवा तीन बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने भेटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
यद्यपि, यस भ्रमणमा नेपालको दीर्घकालीन चासोका विषय कति प्रभावकारी रूपमा उठ्छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। विशेषगरी व्यापार घाटा न्यूनीकरण, पारवहन सहजता, ऊर्जा व्यापार, हवाई रुट विस्तार, सीमावर्ती क्षेत्रको पूर्वाधार विकास र दुई देशबीच देखिँदै आएका समस्याको समाधान नेपाली पक्षका लागि महत्वपूर्ण विषय हुन्।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, भौगोलिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। तर सम्बन्धको गहिराइसँगै समय–समयमा सीमा, व्यापार र पारवहनलगायतका विषयमा असमझदारीसमेत देखिने गरेका छन्।
त्यसैले प्रधानमन्त्री बालेन शाहको यो भ्रमण केवल औपचारिक कूटनीतिक भेटघाटमा सीमित नभई नेपालले आफ्ना राष्ट्रिय हितका विषयमा कस्तो उपलब्धि हासिल गर्न सक्छ भन्ने दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।
अब सबैको चासो भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्तामा केन्द्रित भएको छ। के यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास निर्माण गर्न सक्ला? के लामो समयदेखि उठ्दै आएका आर्थिक, व्यापारिक र पूर्वाधारसम्बन्धी मुद्दामा ठोस सहमति जुट्ला? यसको जवाफ भने भोलि हुने उच्चस्तरीय वार्ता र त्यसबाट सार्वजनिक हुने सहमतिले दिनेछ।