काठमाडौँ । अमेरिकामा सन् २०२६ को मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक हुन थालेसँगै डेमोक्रेटिक पार्टीले प्रारम्भिक अग्रता हासिल गरेको छ । यसैबीच, भारतीय मूलकी डेमोक्रेटिक उम्मेदवार पिया डान्डिया फ्लोरिडाको २२औँ कंग्रेसनल डिस्ट्रिक्टबाट विजयी भएकी छन् ।
सीबीएसका अनुसार डान्डियाले दक्षिण फ्लोरिडाको चर्चित चुनावी प्रतिस्पर्धामा रिपब्लिकन पार्टीका उम्मेदवार केसी अस्करलाई पराजित गरेकी हुन् ।
उनको जितलाई फ्लोरिडामा डेमोक्रेटिक पार्टीको महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ । सन् २०२६ को मध्यावधि चुनावअघि फ्लोरिडाका गभर्नर रोन डेसान्टिसको नेतृत्वमा निर्वाचन क्षेत्रको पुनर्सीमांकन गरिएको थियो । त्यसपछि बनेको नयाँ निर्वाचन क्षेत्रमा डान्डियाले सफलता हासिल गरेकी हुन् ।
डान्डिया यसअघि हार्लेममा शिक्षिका तथा एक हाईस्कुलकी प्रिन्सिपलका रूपमा कार्यरत थिइन् । उनले ह्वाइट हाउस फेलोका रूपमा काम गर्नुका साथै प्रविधि कम्पनी एप्पलमा समेत काम गरेको अनुभव छ ।
भारतीय आप्रवासी आमाबुबाकी सन्तानका रूपमा फ्लोरिडाको पाम बिच काउन्टीमा जन्मिएकी र हुर्किएकी डान्डियाले चुनावी अभियानमा शिक्षा, बढ्दो महँगी र आर्थिक अवसरलाई प्रमुख मुद्दा बनाएकी थिइन् ।
उनका प्रतिस्पर्धी केसी अस्कर नेपल्सका व्यवसायी तथा अमेरिकी मरीन कोर्प्सका पूर्वसैनिक हुन् । उनले रेस्टुरेन्ट फ्रेन्चाइज व्यवसायमार्फत आफ्नो व्यावसायिक पहिचान बनाएका थिए । चुनावी अभियानका क्रममा उनले आफूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारका नीतिहरूको समर्थकका रूपमा प्रस्तुत गरेका थिए ।
डान्डियाले गत अगस्टमा भएको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचन जित्दै मुख्य निर्वाचनका लागि आफ्नो उम्मेदवारी निश्चित गरेकी थिइन् ।
भारतीय मूलकी उम्मेदवारको यो जितलाई अमेरिकी राजनीतिमा आप्रवासी समुदायको बढ्दो राजनीतिक सहभागिताका रूपमा समेत हेरिएको छ ।