बेनुराज प्रसाई दमक ।झापाको दमक नगरपालिका–४ ताराबारीमा तिहारलाई लक्षित गर्दै सयपत्री फूल खेती गरिएको छ। स्थानीय फूल व्यवसायी मदन बोहराले पाँच कट्ठा जमिनमा सयपत्री फूल खेती गरी यस वर्षको तिहारमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य राख्नुभएको छ।
तिहारमा सयपत्री फूलको माग बढ्ने भएकाले स्थानीय उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने र स्थानीय बजारमै बिक्री गर्ने उद्देश्यले खेती गरिएको बोहराले बताउनुभयो। उहाँले विशेषगरी व्यापारीभन्दा पनि घरमा तिहारका लागि फूल खरिद गर्ने उपभोक्तालाई प्राथमिकता दिएर बिक्री गर्ने योजना बनाउनुभएको छ।
फूल बिक्रीका लागि दमकको नमुना मार्केट आसपास आफ्नै काउन्टर तथा स्टल राख्ने तयारी गरिएको छ। उक्त स्टलबाट उपभोक्ताले सहज रूपमा ताजा सयपत्री फूल खरिद गर्न सक्नेछन्।
बोहराले एउटा सयपत्री फूलको मालाको मूल्य एक सय रुपैयाँ निर्धारण गर्नुभएको छ। उहाँका अनुसार एउटा मालामा करिब ५० वटासम्म फूलका थुँगा रहनेछन्।
तिहारमा फूलमाला, घर सजावट तथा पूजाआजाका लागि सयपत्री फूलको माग उल्लेख्य रूपमा बढ्ने गर्दछ। स्थानीय स्तरमै उत्पादन गरिएको फूल बिक्री गर्दा उपभोक्ताले सहज रूपमा फूल पाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सयपत्री फूल खरिद गर्न वा थप जानकारी लिन इच्छुक उपभोक्ताले ९८५२६७९१७८ मा सम्पर्क गर्न सक्नेछन्।