दमक — स्थानीय तहको नेतृत्व दलगत भागबन्डाभन्दा माथि उठेर जनताको विश्वास, नेतृत्व क्षमता र कार्यसम्पादनका आधारमा चयन हुनुपर्नेमा युवा नेता महेश घिमिरेले जोड दिएका छन्। उनले दमकको समग्र विकास र सुशासनका लागि दलगत स्वार्थभन्दा जनताको हितलाई प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक रहेको बताएका छन्।
स्थानीय तहमा दलविहीन नेतृत्वको अवधारणा अघि सार्दै घिमिरेले यो अभियान कुनै राजनीतिक दल वा विचारधाराको विरोधमा नभई सक्षम, इमानदार र जनउत्तरदायी व्यक्तिहरूलाई साझा उद्देश्यमा एकताबद्ध गर्ने प्रयास भएको स्पष्ट पारेका छन्। उनका अनुसार स्थानीय सरकार जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने भएकाले नेतृत्व चयनमा राजनीतिक आबद्धताभन्दा योग्यता, इमानदारी, प्रतिबद्धता र काम गर्ने क्षमतालाई प्राथमिकता दिनुपर्छ।
दमकलाई समृद्ध, व्यवस्थित र सुशासित सहरका रूपमा विकास गर्न सबै वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै नागरिकमा अपनत्वको भावना विकास गर्नुपर्ने उनको धारणा छ। पारदर्शिता, जवाफदेहिता र समावेशी विकासलाई केन्द्रमा राखेर अघि बढ्न सके मात्रै स्थानीय सरकारप्रति जनविश्वास बलियो हुने घिमिरेको विश्वास छ।
‘जनताको नेतृत्व, जनताकै अपनत्व’ भन्ने मूल नारासहित अघि सारिएको यस अभियानले साझा नेतृत्व, नागरिक सहभागिता र समृद्ध दमकको परिकल्पनालाई जोड दिएको छ। केही समयदेखि कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका घिमिरेले स्थानीय नेतृत्वलाई दलीय सीमाभन्दा माथि उठाएर जनताको साझा प्रतिनिधिका रूपमा स्थापित गर्ने अवधारणालाई अघि सारेका छन्।