काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विगतका कामको आत्मसमीक्षा गर्दै जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको अपिलमा कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गरिने उल्लेख छ। अभियानमार्फत पार्टीका नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्ने जनाइएको छ।
पार्टीले आफ्ना विगतका कामको इमानदारीपूर्वक समीक्षा गर्दै गल्ती र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने आवश्यकता औंल्याएको छ। जनताको विश्वास पुनः बलियो बनाउन नेता तथा कार्यकर्तालाई विनम्रतापूर्वक जनतामाझ जान, आलोचना स्वीकार गर्न र कमजोरी सच्याउन आग्रह गरिएको छ।
अभियानका क्रममा महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, श्रमिक तथा सुकुम्बासीका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे जनताबाट तथ्य तथा अनुभव संकलन गर्ने पार्टीले जनाएको छ।
त्यस्तै, पार्टीले वर्तमान सरकारमाथि लोकतान्त्रिक संस्था, नागरिक अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषयमा प्रश्नसमेत उठाएको छ। नयाँ र पुरानाबीचको कृत्रिम विभाजनले सामाजिक घृणा बढाएको र नागरिकका राजनीतिक अधिकार सङ्कुचित गर्ने प्रवृत्ति देखिएको पार्टीको दाबी छ।
पार्टीले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ। विशेषगरी रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र बेपत्ता नागरिकको खोज तथा उद्धारमा लापरबाही भएको भन्दै पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
अभियानका क्रममा जनताबाट प्राप्त समस्या सम्बन्धित स्थानीय, प्रदेश तथा संघीय निकायसम्म पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समाधानका लागि पहल गर्ने पनि पार्टीले जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारको संरक्षणसँगै उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिँदै समाजवाद निर्माणको आधार तयार पार्ने उद्देश्य अभियानको रहेको जनाएको छ।
अभियानसँगै पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, कार्यविभाजन तथा पार्टी एकताका बाँकी कामलाई तल्लो तहसम्म पुर्याउने र संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।