काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारसँग आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादलाई हेर्ने गरिएको विगतको अवस्था अब समाप्त भएको बताएका थिए।
वाग्लेको उक्त अभिव्यक्तिले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको थापाको आरोप छ। नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नभई राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली जनताको हितको संरक्षणमा केन्द्रित रहेको उनले बताएका छन्।
थापाले भारतसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै सीमा अतिक्रमण, डुबान तथा नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्।
उनले विदेशी मञ्चमा नेपालको राष्ट्रिय भावनालाई सीमित दृष्टिकोणबाट प्रस्तुत गर्नु गैरजिम्मेवार भएको टिप्पणीसमेत गरेका छन्। केही व्यक्तिका धारणाका आधारमा सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई भारतविरोधी राष्ट्रवादका रूपमा व्याख्या गर्नु पूर्वाग्रही सोच भएको उनको भनाइ छ।
वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको भनिएको ‘मुनरो डक्ट्रिन’ सँग सम्बन्धित छ कि भन्दै प्रश्न उठाएका थापाले जिम्मेवार पदमा रहेका व्यक्तिले यसबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
यस विषयमा सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत थापाले गरेका छन्।