नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो।
क्यानका अनुसार डीआरएसमार्फत अम्पायरको निर्णयमा शंका वा असहमति भएमा त्यसलाई पुनरावलोकन गर्न सकिनेछ। यसले खेलका महत्वपूर्ण निर्णयलाई थप तथ्यपरक र प्रविधिमैत्री बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
एनपीएलमा एलबीडब्लु निर्णयको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङ प्रविधि प्रयोग गरिनेछ। त्यस्तै रनआउट, स्टम्पिङ र नो–बलसम्बन्धी निर्णयको पनि रिभ्यू गर्न सकिने क्यानले जनाएको छ।
यसका साथै एआई प्रविधिको प्रयोग गरी ब्याटमा बल लागेको वा नलागेको अर्थात् एज डिटेक्सनसमेत गरिनेछ। वाइड बलको उचाइ, छक्काको दूरी तथा उचाइ मापनसहित अन्य बलिङसम्बन्धी विश्लेषण पनि उपलब्ध हुने बताइएको छ।
यसअघि क्यानका सचिव पारस खड्काले एनपीएलमा पहिलोपटक डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए। क्यानले दुई कम्पनीसँग प्रविधिको परीक्षणसमेत गरिसकेको थियो। परीक्षणपछि प्रविधिको एक्युरेसी मूल्यांकन गरी अन्तिम निर्णय गर्ने तयारी गरिएकोमा अब एनपीएलमा डीआरएस प्रयोग गर्ने घोषणा गरिएको हो।
डीआरएसको प्रयोगसँगै एनपीएलका खेलमा अम्पायरिङ निर्णय थप विश्वसनीय बन्ने र खेलाडी तथा दर्शकका लागि खेलको रोमाञ्चकता अझ बढ्ने अपेक्षा गरिएको छ।