दमक । राजनीतिक विचार र आस्था फरक भए पनि स्थानीय विकास, सामाजिक सद्भाव र जनताको हितका सवालमा साझा प्रतिबद्धता जनाउँदै दमकमा विभिन्न राजनीतिक दलका नेतृत्वबीच दसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस दमक नगर सभापति युवराज खनाल (सागर) को समन्वयमा दमक चोकस्थित ओयसी क्याफेमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका नगरस्तरीय नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेस दमक नगर सभापति युवराज खनाल (सागर), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तीर्थ लामिछाने, नेकपा एमालेका अध्यक्ष राम पौडेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक रवि बस्नेत, श्रम संस्कृति पार्टीकी अध्यक्ष पूजा लक्ष्मी गुरुङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रेवत चन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा राजनीतिक विचार र आस्था फरक भए पनि दमकको समृद्धि, शान्ति, विकास र नागरिकको सुखी जीवन सबैको साझा उद्देश्य हुनुपर्ने सन्देश प्रवाह गरिएको थियो। राजनीतिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिँदै स्थानीय सरोकारका विषयमा आपसी संवाद, सहकार्य र एकताको संस्कृति विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
“राजनीतिक विचारमा विविधता, तर दमकको विकासमा एकता” भन्ने भावनासहित सम्पन्न भेटघाटले विभिन्न दलका नेतृत्वबीच आपसी सद्भाव, भाइचारा र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
चाडपर्वलाई केवल शुभकामना आदानप्रदानमा मात्र सीमित नराखी साझा उद्देश्य प्राप्तिका लागि सहकार्यको प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा उपयोग गरिएको यस भेटघाटले स्थानीय राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिएको छ। विचार र राजनीतिक आस्था फरक भए पनि समाजप्रतिको जिम्मेवारी साझा हुने भएकाले दमकको विकास र जनसरोकारका विषयमा सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश कार्यक्रमले दिएको छ।
कार्यक्रममार्फत दसैँको अवसरमा सबैमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरिएको थियो।