भदौ १० गतेको बाढीले बगाएको पुलको स्थानमा बेलिब्रिज निर्माण गरिएपछि ४७ दिनपछि रसुवा फेरि सडक सञ्जालसँग जोडिएको छ। नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले दुई सातामै बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको हो।
बाढीले नयाँ र पुराना दुवै मोटरेबल पुल बगाएपछि रसुवाको यातायात सम्पर्क अवरुद्ध बनेको थियो। पुल नहुँदा स्थानीयवासी, यात्रु तथा बाढीबाट प्रभावित नागरिकले उद्धार, राहत र दैनिक आवतजावतमा ठूलो सास्ती भोग्नुपरेको थियो।
नवनिर्मित पुलले नुवाकोटको विदुर नगरपालिका–१० र रसुवाको उत्तरगया गाउँपालिका–५ लाई जोडेको छ। पुल सञ्चालनमा आएसँगै रसुवाको काठमाडौं तथा नुवाकोटसँगको यातायात सम्पर्क पुनःस्थापित भएको छ।
चाडपर्व नजिकिँदै गर्दा पुल सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। यसले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, दैनिक जनजीवन सहज बनाउन र आवतजावत पुनःसञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।