अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानेजले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई बडादसैँ तथा विजयादशमीको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयबाट शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्यको विजयको सन्देश बोकेको दसैँ पर्वको महत्त्वलाई स्मरण गरेका हुन्।
नेपालमा बाढीपहिरोका कारण जनधनको क्षति भइरहेको कठिन परिस्थितिप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्। यसअघि संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरेका एल्बानेजले बाढीका बेला टेलिफोनमार्फत चासो व्यक्त गर्दै सहायता सामग्रीसमेत पठाएका थिए।
आफ्नो शुभकामना सन्देशको अन्त्यमा उनले नेपाली भाषामै ‘विजया दशमीको शुभकामना’ भन्दै नेपाली समुदायप्रति आत्मीयता प्रकट गरेका छन्।