अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जनजीवन प्रभावित पारेको छ। आँधीसँगै बाढी, तीव्र हावाहुरी र टोर्नाडोको जोखिम बढेपछि फ्लोरिडा, अलाबामा र जर्जियामा आपत्काल घोषणा गरिएको छ।
आँधीका कारण फ्लोरिडामा ३ लाख ५० हजारभन्दा बढी, अलाबामामा करिब १ लाख ७० हजार र जर्जियामा हजारौँ ग्राहकको विद्युत् सेवा अवरुद्ध भएको छ। जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अधिकारीहरूले निर्देशन दिएका छन्।
आँधीको जोखिमकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलाबामामा सहभागी हुने भनिएको कार्यक्रम रद्द गरेका छन्। मौसमविद्हरूले भारी वर्षा, समुद्री बाढी र तीव्र हावाहुरीको जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।