अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको मूल्य नियन्त्रण गर्ने उद्देश्यले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौता घोषणा गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसप्रति कडा आपत्ति जनाउँदै यो निर्णयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक लाभ पुर्याएर युद्ध लम्ब्याउन सहयोग गर्ने चेतावनी दिएका छन्।
ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउनेछ भने त्यसपछि थप परिमाणमा आपूर्ति गरिनेछ। सम्झौताअन्तर्गत अमेरिकाले रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध आगामी अप्रिल ७ सम्म अस्थायी रूपमा निलम्बन गरेको बताइएको छ। यद्यपि, अन्य प्रतिबन्ध भने कायमै रहनेछन्।
जेलेन्स्कीले रुसले इन्धन व्यापारबाट प्राप्त आम्दानी युक्रेनमाथिको आक्रमणमा खर्च गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उता, युरोपेली सहयोगीहरूले पनि यो सम्झौताले रुसको युद्ध क्षमतालाई बलियो बनाउन सक्ने आशङ्का गरेका छन्। इन्धनको मूल्य घटाउने अमेरिकी प्रयास र युद्ध रोक्न रुसमाथि दबाब बढाउने रणनीतिबीच ट्रम्पको यो निर्णयले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।