काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएर परिणाम सार्वजनिक भए पनि अन्य पदाधिकारीको मतगणना भने अझै सुरु हुन सकेको छैन। सभापति पदमा गगन थापा भारी मतान्तरसहित निर्वाचित हुँदा बाँकी पदको नतिजा कुर्नुपर्ने भएको छ।
सभापति पदको मतगणना शुक्रबार रातिदेखि सुरु गरिएको थियो। शनिबार बिहान ५ बजेअघि नै मतपरिणाम सार्वजनिक भएको हो। निर्वाचनमा गगन थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा शानदार जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ३ सय ७५ मत मात्रै प्राप्त गरेका छन्। सभापति पदको निर्वाचनमा ५४ मत बदर भएको निर्वाचन परिणामले देखाएको छ।
सभापति पदको नतिजा सार्वजनिक भइसके पनि अन्य पदाधिकारीको मतगणना प्रक्रिया भने अघि बढ्न सकेको छैन। सभापतिबाहेकका पदाधिकारीका मतपेटिका पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिएको छ। निर्वाचन समितिले सबै पदका उम्मेदवारसँग छलफल गरेर शनिबार दिउँसोदेखि मतगणना सुरु गर्ने तयारी गरेको जनाएको छ।
सभापतिमा गगन थापाको जितपछि कांग्रेसको नयाँ नेतृत्वमा कसले कुन जिम्मेवारी पाउँछ भन्ने चासो बढेको छ। विशेषगरी उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको नतिजालाई महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताले प्रतीक्षा गरिरहेका छन्।
सभापति पदको मतगणना सम्पन्न भइसके पनि बाँकी पदको गणनामा भएको ढिलाइले निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक हुन अझै समय लाग्ने देखिएको छ। अब अन्य पदाधिकारीको मतगणना कहिले सुरु हुन्छ र कुन समूहका उम्मेदवारले बाजी मार्छन् भन्ने विषय कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण बन्नेछ।