दमक । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न अधिवेशनले नयाँ क्षेत्रीय नेतृत्व चयन गर्नुका साथै महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरू निर्वाचित गरेको छ।
पार्टीको सांगठनिक गतिविधिलाई तीव्र बनाउँदै अघि बढेको संस्थापन इतर समूहले वडा तथा पालिका अधिवेशन सम्पन्न गरेपछि क्षेत्रीय अधिवेशन आयोजना गरेको हो। क्षेत्र नम्बर ५ का क्षेत्रीय संयोजक जितेन साम्पाङको संयोजकत्वमा सम्पन्न अधिवेशनमा पूर्वसांसद महेन्द्र कुमारी लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो।
अधिवेशनले झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा अमृत कटुवाललाई निर्वाचित गरेको छ। त्यस्तै, सचिवमा मिलन आचार्य चयन भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ प्रदेशसभा क्षेत्र नम्बर ५ (क) को सभापतिमा नारायण अधिकारी र क्षेत्र नम्बर ५ (ख) को सभापतिमा विशाल अधिकारी निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्षेत्रीय तहमा पार्टीको संगठन विस्तार र महाधिवेशन केन्द्रित गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अधिवेशनबाट पार्टीको नीति निर्माण तथा संगठन सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने १३ जना महासमिति सदस्यसमेत निर्वाचित भएका छन्। निर्वाचित महासमिति सदस्यहरूमा पूर्वमन्त्री महेन्द्र कुमारी सुब्बा, गोमा देवी प्रसाईं बुढाथोकी, लतादेवी चापागाईं (रिजाल), कल्पना राई, दिलबहादुर बुढाथोकी, डा. खगेन्द्र पाण्डव अधिकारी, घनेन्द्र राज योङ्या, सियाराम राजवंशी, राजकुमार न्यौपाने, वीरेन्द्र पोखरेल र गणेशबहादुर बुढाथोकी रहेका छन्। त्यस्तै, १८ देखि २९ वर्ष उमेर समूहबाट युनिश कुँवर र राजकुमारी राजवंशी महासमिति सदस्यमा निर्वाचित भएका छन्।
यसैगरी, अधिवेशनले विभिन्न समावेशी तथा विधागत क्लस्टर समेटेर कुल ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको निर्वाचन समिति संयोजक छविन्द्र कार्कीले जानकारी दिएका छन्। पार्टीको आगामी महाधिवेशनमा क्षेत्रको प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि चयन गर्दा खुला, महिला, समावेशी, युवा, श्रमिक, विज्ञ, अपाङ्गता भएका व्यक्ति, प्रजातन्त्र सेनानी तथा मुस्लिमलगायतका समूहलाई समेटिएको जनाइएको छ।
खुला महिला कोटाबाट महेन्द्र कुमारी सुब्बा, गोमा बुढाथोकी प्रसाईं, लता चापागाईं रिजाल र राजकुमारी राजवंशी निर्वाचित भएका छन्। खुला कोटातर्फ डा. खगेन्द्र पाण्डव अधिकारी, दिलबहादुर बुढाथोकी, घनेन्द्र राज योङ्या, राजकुमार न्यौपाने, सियाराम राजवंशी, गणेशबहादुर बुढाथोकी, वीरेन्द्र पोखरेल, जीवन न्यौपाने, राजेन्द्र कार्की र राजेन्द्र प्रसाईं चयन भएका छन्।
त्यसैगरी, खुला समावेशी कोटाबाट कल्पना राई, विष्णु सुब्बा, पुरन अधिकारी (पवन), जितेन राई, दिलकुमारी सुब्बा (दिलु) र छविलाल भण्डारी (कपिलमणि) निर्वाचित भएका छन्। अन्य प्रतिनिधिहरूमा किशोर कोइराला, नारायण बराल, बसन्त बुढाथोकी र राजेन्द्रकुमार प्रसाईं रहेका छन्।
विधागत प्रतिनिधित्वअन्तर्गत विज्ञ कोटाबाट रघुनाथ भण्डारी, श्रमिक कोटाबाट बाबुराम अधिकारी तथा युवा समूहबाट युनिश कुँवर र आकृति तामाङ निर्वाचित भएका छन्। त्यस्तै, ४० वर्षमुनिको कोटाबाट द्रोण दाहाल र नीलकमल राई (नीलु) चयन भएका छन्। अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गर्दै डिल्लीराम काफ्ले, प्रजातन्त्र सेनानीको तर्फबाट अम्बिकाबहादुर खड्का र मुस्लिम कोटाबाट इस्साफिल मियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
झापा क्षेत्र नम्बर ५ मा सम्पन्न यो अधिवेशनलाई कांग्रेसको आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट र संगठनात्मक गतिविधि अघि बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। क्षेत्रीय नेतृत्वदेखि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसम्मको चयनले पार्टीभित्रको आगामी राजनीतिक समीकरण तथा संगठन निर्माणमा प्रभाव पार्ने देखिन्छ।
अधिवेशनबाट निर्वाचित नेतृत्व र प्रतिनिधिहरूले पार्टीको नीति, संगठन सुदृढीकरण तथा आगामी महाधिवेशनमा क्षेत्रको भूमिका प्रभावकारी बनाउन कस्तो पहल गर्छन् भन्ने विषय अब चासोको केन्द्रमा रहनेछ।