1. Home
  2. समाचार
  3. बुवाको उपचारका लागि ‘क्युआर कोड’ राखेपछि आलोचित डोनाले भनेः तपाईंहरुलाई पाप नलागोस्

बुवाको उपचारका लागि ‘क्युआर कोड’ राखेपछि आलोचित डोनाले भनेः तपाईंहरुलाई पाप नलागोस्

काठमाडौँ । पूर्वफुटबल खेलाडी तथा चर्चित कन्टेन्ट क्रिएटर (युट्युवर) डोना थापाले आफ्ना गम्भीर बिरामी बुबाको उपचारका लागि सामाजिक सञ्जालमा ‘क्युआर कोड’ राखेर आर्थिक सहयोग मागेपछि उत्पन्न विवाद र आलोचनाप्रति लामो प्रष्टीकरण दिएका छन् । सामा...

yuktitimesबिहिबार, २२ असोज, २०८३ १८:४७
३० असोज २०८३
3 min read
Follow
बुवाको उपचारका लागि ‘क्युआर कोड’ राखेपछि आलोचित डोनाले भनेः तपाईंहरुलाई पाप नलागोस्

काठमाडौँ । पूर्वफुटबल खेलाडी तथा चर्चित कन्टेन्ट क्रिएटर (युट्युवर) डोना थापाले आफ्ना गम्भीर बिरामी बुबाको उपचारका लागि सामाजिक सञ्जालमा ‘क्युआर कोड’ राखेर आर्थिक सहयोग मागेपछि उत्पन्न विवाद र आलोचनाप्रति लामो प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा डोनाले आफ्नो आर्थिक अवस्था र बुबाको स्वास्थ्य अवस्था दर्शाउँदै आरोपहरूको खण्डन गरेका हुन् ।

बुबा अचानक बिरामी परेपछि खर्च जुटाउन सुरुमा भाइ (फुटबलर)को गाडी बेच्ने तयारी गरेको तर शुभचिन्तकहरूको सल्लाहमा सहयोगको बाटो रोजेको डोनाले बताएका छन् ।

‘हामीले तत्काल आर्थिक जोहो गर्न भाइको गाडी बेच्ने भनेर पोस्ट गरेका थियौँ । तर, १०–१२ हजारभन्दा बढी मानिसहरूले ‘गाडी नबेच, हामी छौँ, सानो सपना किन मार्ने ? क्युआर राख, हामी सहयोग गर्छौं, भनेर हौसला दिनुभयो,’ डोनाले भने, ‘उहाँहरूकै आग्रह र भावनाको सम्मान गर्दै हामीले क्युआर कोड राखेका हौं । हामीले कसैलाई जबर्जस्ती मागेका होइनौँ ।’

बुबा पूर्व भारतीय सैनिक भएकाले निःशुल्क उपचार (इसीएचएस) सुविधा हुँदाहुँदै महँगो निजी अस्पतालमा लगेर चन्दा मागेको भन्ने आलोचनामा पनि उनले स्पष्टीकरण दिएका छन् । डोनाका अनुसार बिहान ६ बजे अचानक बुबालाई ‘सिजर अट्याक’ (छारे रोगजस्तो कम्प) आएपछि सुरुमा मेट्रो अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्काल ज्यान बचाउन ग्रान्डी अस्पतालको भेन्टिलेटरमा भर्ना गर्नुपरेको थियो ।

‘आकस्मिक रूपमा ज्यान जान लागेको अवस्थामा हामीले ईसीएचएस कार्ड खोजेर, त्यो चल्ने अस्पताल चहार्न थालेको भए आज बुबा हामी माझ हुनुहुन्नथ्यो होला,’ उनले भने, ‘त्यस्तो आपत्कालीन अवस्थामा सस्तो-महँगो नभनी जहाँ भेन्टिलेटर पाइन्छ, त्यहीँ लानुपर्ने हाम्रो बाध्यता थियो ।’

उनले पेन्सन आउँदैमा असीमित पैसा नहुने, घरको ऋण तथा घरायसी जिम्मेवारीहरू यथावत् रहने यथार्थ पनि सुनाए ।

हाल ग्रान्डी अस्पतालमा उपचाररत बुबाको स्वास्थ्य स्थिति अझै जटिल रहेको डोनाले जानकारी दिएका छन् । उनका अनुसार बुबाको मस्तिष्कमा २ सेन्टिमिटर रगत जमेको (ब्लड क्लट) छ, जसका कारण पटक-पटक कडा ‘सिजर’ आइरहेको छ ।

शरीरको बायाँ भाग चल्न छोडेको र अवस्था अझै जोखिमपूर्ण रहेकाले भेन्टिलेटरमा राखेर लामो समय उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

संकटको घडीमा केही व्यक्तिहरूले देखाएको अमानवीय व्यवहारप्रति डोना र उनका भाइहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।

कतिपयले १ रुपैयाँ खातामा हालेर ‘मगन्ते’ भन्दै व्यक्तिगत सन्देश पठाएर गिज्याएको र सामाजिक सञ्जालमा स्क्रिनसट राखेको उनले बताए । बुबा भेन्टिलेटरमा जीवन–मृत्युको लडाइँ लडिरहेको बेला सामाजिक सञ्जालमा ‘हार्दिक श्रद्धाञ्जली’ (आरआइपी) लेखेर अफवाह फैलाइएको भन्दै उनले आपत्ति जनाए ।

‘कसैलाई सहयोग गर्न मन छैन भने नगर्दा हुन्छ, तर यस्तो गम्भीर परिस्थितिमा खुट्टा तान्ने, १ रुपैयाँ पठाएर मजाक उडाउने र जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिने काम नगरिदिनुस्,’ उनले हात जोड्दै आग्रह गरे ।

उपचारका लागि संकलित रकमको पूर्ण पारदर्शिता हुने प्रतिबद्धता जनाउँदै डोनाले यदि बुबाको उपचार खर्चभन्दा बढी रकम उठेमा त्यसलाई व्यक्तिगत काममा एक रुपैयाँ पनि प्रयोग नगर्ने कसम खाएका छन् ।

‘म दुई हात जोडेर बाचा गर्छु, उपचारपछि बढी भएको रकम बाढीपीडित वा अन्य कुनै असहाय बिरामीको सहयोगमै लगाउनेछौँ । जसरी विगत १०–१२ वर्षदेखि मैले आफ्नै कमाइबाट एकेडेमीका बालबालिका, क्यान्सर पीडित र विपन्नहरूलाई सहयोग गर्दै आएको छु, यो रकम पनि सही ठाउँमा पुग्नेछ,’ उनले भने ।

अन्त्यमा, थापा दाजुभाइले विपद् जुनसुकै बेला जो–कोहीको घरमा पनि आउन सक्ने भन्दै अरूको पीडामा नहाँस्न र सकारात्मक सोच राख्न सबैलाई अपिल गरेका छन् । यस्तो बेलामा पनि आफूहरुमाथि नकारात्मक टिकाटिप्पणी गर्नेहरुलाई उनले भने, ‘तपाईंहरुलाई पाप नलागोस, तपाईंहरुले भविष्यमा यस्तो भोग्नु नपरोस ।’

संकटको घडीमा साथ, सहयोग र प्रार्थना गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति उनीहरूले हृदयदेखि नै आभार प्रकट गरेका छन् ।

को हुन् डोना थापा ?

डोना थापा पूर्वनेपाली फुटबलर हुन्, तर पछिल्लो समय फुटबलभन्दा टिकटक,युट्यूव र सामाजिक सञ्जालमा बढी चिनिएका छन् ।

उनले नेपालको अन्डर १९ टिमबाट मिडफिल्डरको रुपमा खेलेका थिए । मनाङ मर्स्याङ्दी, थ्री स्टार लगायतका क्लबबाट खेल्दै राष्ट्रिय टीममा पनि पर्न सफल भएका थिए ।

अहिले उनको टिकटक अकाउन्टमा करिब १.५ लाखभन्दा बढी फलोअर र करिब २ करोड लाइक्स छन् । उनको युट्यूव च्यानलमा पछिल्लो उपलब्ध तथ्यांकअनुसार करिब ८.९ लाख सब्सक्राइबर र २९ करोडभन्दा बढी भिडियो भ्युज छन् ।

उनका केही भिडिओले लाखौँ भ्युज पाएका छन् । एउटा भिडिओले ६५ लाखभन्दा बढी भ्युज पाएको तथ्यांक छ ।

पछिल्लो समय उनी म्युजिक भिडिओमा पनि देखिन थालेका छन् । २०२६ मा ‘दिम कि नदिम’ लगायतका गीतका भिडियोमा उनको अभिनय देखिएको छ । उनका भाइ एरोन थापा पनि फुटबलसँग जोडिएका छन् । तीन भाइमा डोना जेठा हुन् ।

सामाजिक सञ्जालमा डोनाकी पत्नी पोर्चुगलको पीआरवाला रहेको, बुवा पूर्वभारतीय सैनिकका रुपमा पेन्सन पाइरहेको, डोनाको आफ्नै युट्यूव र टिकटकबाट राम्रो आम्दानी गरिरहेको, महंगो गाडी चढ्ने गरेको लगायत विषयवस्तुहरु उठाएर उनले बुवाको उपचारको लागि सहयोग संकलन गरेकोप्रति आलोचना भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, २२ असोज, २०८३ १८:४७

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Trending Now

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।