दमक । नेपाली कांग्रेस दमक नगर समितिको सभापतिमा सुनिल राई सर्वसम्मत चयन हुनुभएको छ। दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेलाले राईको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो।
नयाँ नेतृत्व चयनसँगै कांग्रेस दमकमा पुस्तान्तरणको स्पष्ट संकेत देखिएको छ। नगरदेखि वडा तहसम्म अनुभवी नेतासँगै युवा पुस्तालाई समेत नेतृत्वमा समेटिएपछि पार्टीलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
सर्वसम्मत चयन भएको नगर कार्यसमितिको उपसभापतिमा अमित खड्का र सान्ता अधिकारी, सचिवमा सन्दिप राई तथा सहसचिवमा अनिश बस्नेत र सुवास राई चयन हुनुभएको छ।
त्यस्तै नगर सदस्यमा छितिज ढुंगाना, राम किसन साह, दिपक तिरुवा, सर्वज्ञ कन्दङ्वा, साजन राई, दुर्गा धिमाल, आसा राई, मानदेव राई, नेपबहादुर दर्जी, रोजिना गुरुङ र अन्जना चौहान नेपाल चयन हुनुभएको छ।
नगर नेतृत्वसँगै दमकका १० वटै वडामा पनि सभापति चयन गरिएको छ। वडा नम्बर १ मा पासाङ तामाङ, वडा नम्बर २ मा दिप मगर, वडा नम्बर ३ मा केदारसिंह अधिकारी, वडा नम्बर ४ मा भीमराज कार्की र वडा नम्बर ५ मा ऋद्धि बद्री खड्का सभापतिमा चयन हुनुभएको छ।
त्यसैगरी वडा नम्बर ६ मा नारायणप्रसाद भट्टराई, वडा नम्बर ७ मा राजेश रनपहेली, वडा नम्बर ८ मा राजन राई, वडा नम्बर ९ मा साजन राई र वडा नम्बर १० मा यामबहादुर विष्ट सभापतिमा चयन हुनुभएको छ।
१० वटै वडामा नेतृत्व चयन भएसँगै कांग्रेस दमकको संगठन अब वडा तहबाटै थप सक्रिय हुने अपेक्षा गरिएको छ। स्थानीय तहमा पार्टीको संगठन बलियो बनाउने, कार्यकर्तालाई चलायमान बनाउने र जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने जिम्मेवारी नयाँ नेतृत्वमाथि आएको छ।
नयाँ नेतृत्व चयनका क्रममा अनुभवी नेता र युवा पुस्ताको बलियो उपस्थिति देखिएको थियो। भेलामा पूर्व सांसद महिन्द्र कुमारी लिम्बु, डा. खगेन्द्र पाण्डव अधिकारी, घनेन्द्र योङ्या, दिलबहादुर बुढाथोकी, वीरेन्द्र पोख्रेल, लता चापागाईं, गोमा बुढाथोकी, राजेन्द्र प्रसाई, राजु न्यौपाने र जङ्गबहादुर थापा लगायतका अनुभवी नेताहरूको सहभागिता थियो।
त्यस्तै युवा नेताहरू द्रोण दाहाल, सुनिल हताचो, विशाल अधिकारी र रोवर्ट रनपहेली लगायतको पनि सक्रिय सहभागिता रहेको थियो। स्ववियु सदस्यहरू सर्वज्ञ कन्दङ्वा, सुदिप साम्बाहाम्फे र सुमितकुमार तामाङ लगायत युवा विद्यार्थी नेताहरूको उपस्थितिले पनि कांग्रेसमा नयाँ पुस्ताको आकर्षण र सक्रियता बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।
पार्टीभित्र लामो समयदेखि सक्रिय अनुभवी नेतृत्वको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा प्रविधिमैत्री सोचलाई संयोजन गरेर अघि बढ्न सके संगठन थप बलियो बन्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय राजनीतिक दलहरूमा पुस्तान्तरण र युवाको नेतृत्व सहभागिता मुख्य बहसको विषय बनिरहेका बेला दमक कांग्रेसले नगरदेखि वडा तहसम्म युवालाई नेतृत्वमा ल्याउन गरेको प्रयासलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
अर्कोतर्फ, नगर तथा वडा तहमा नेतृत्व चयन गर्दा सर्वसम्मतिलाई प्राथमिकता दिइनुले पार्टीभित्रको आन्तरिक एकता र सहकार्यको सन्देशसमेत दिएको छ। प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्नुपर्ने अवस्थामा पनि आपसी समझदारी र सहमतिका आधारमा नेतृत्व टुंग्याउनुलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्।
अब नयाँ नेतृत्वसामु पार्टी संगठनलाई थप व्यवस्थित बनाउने, निष्क्रिय कार्यकर्तालाई सक्रिय बनाउने, युवा पुस्तालाई पार्टीसँग जोड्ने र स्थानीय जनताका समस्या तथा सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने चुनौती छ।
नवनिर्वाचित नगर तथा वडा समितिका पदाधिकारी र सदस्यहरूलाई भेलामा उपस्थित अतिथि तथा कांग्रेसका नेताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नगरदेखि वडासम्म सर्वसम्मत नेतृत्व चयनसँगै कांग्रेस दमकले नयाँ राजनीतिक यात्राको सुरुवात गरेको छ। अनुभवी नेतृत्वको अनुभव र युवा पुस्ताको ऊर्जालाई एकसाथ अघि बढाउँदै नयाँ नेतृत्वले संगठनलाई कति प्रभावकारी बनाउँछ, त्यो भने आगामी दिनमा देखिनेछ।