दमक, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको अध्यक्षमा रामकुमार थापा पुनः निर्वाचित भएका छन्। दमकमा सम्पन्न पार्टीको दोस्रो प्रदेश अधिवेशनबाट थापा अध्यक्ष पदमा दोहोरिएका हुन्।
अध्यक्ष पदका लागि थापासहित दुर्गा बस्नेत र विश्वमोहन चुनावी प्रतिस्पर्धामा थिए। निर्वाचनमा थापाले २ सय ७० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए।
उनका निकटतम प्रतिस्पर्धी दुर्गा बस्नेतले २ सय ३१ मत प्राप्त गरे। थापाले बस्नेतलाई ३९ मतले पछि पार्दै विजयी भएका हुन्। अर्का प्रतिस्पर्धी विश्वमोहनले भने ४१ मत प्राप्त गरे।
दमकस्थित कस्मिक पार्टी प्यालेसमा बुधबार सम्पन्न अधिवेशनमा कुल ६ सय ४७ प्रतिनिधि सहभागी भएका थिए। तीमध्ये ५ सय ४४ जनाले मतदान गरेका थिए।
मतदानका क्रममा ६ मत बदर भएको थियो। अध्यक्ष पदको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएकाले परिणामलाई राप्रपा कोशीको प्रदेश नेतृत्वका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।
पुनः अध्यक्षमा निर्वाचित भएसँगै थापाले कोशी प्रदेशमा राप्रपाको संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारी पाएका छन्। दमकमा भएको अधिवेशनले प्रदेश नेतृत्वसँगै पार्टीभित्रको आगामी राजनीतिक रणनीति र संगठन विस्तारका विषयमा पनि चासो बढाएको छ।